निर्माणको नाममा भत्काउने
यो विकास हो कि विनाश
हेर्दा त देखियो झिलिमिली शहर
अर्बौं बजेट बर्सेनि सकेर
गाउँलाई जबर्जस्ती शहर बनाउन खोज्दा
उत्पादन घटेर अनिकाल लाग्यो
रैथाने बीउ मासेर
परनिर्भरतामा रमायौ
माटोको अस्तित्व स्वीकारेनौ
प्रकृतिमैत्री विकास कुन चराको नाम हो
थाहै पाएनौ
प्रकृति मौन थियो तर जीवित थियो
बेवास्ता गर्यौ, हेप्नुसम्म हेप्यौ
नदीको बाटो खोस्यौ
चौताराहरू मासिए
भूक्षय बढ्यो
अब स्वीकार गर विनाश

डोजरले खल्बल्याएको पहाडको आँत काम्यो
आरीघोप्टे पानीको बेग रोक्न सकेन
वितण्ड मच्चियो गट्याङगुटुङ्ग
ओरालो लाग्यो जनधन सबै
प्रकृतिले विध्वंसकारी रूप देखायो
केका लागि विकास ?
कसका लागि विकास ?
आफ्नोपन बिर्सियौ
अर्काको नक्कल हावी गरायौ
आफ्नो संस्कार भुलेर
अर्काको संस्कार अनुसरण गर्यौ
अब भोग्नुछ तिमीले बर्बादी
स्वीकार गर नियति

प्राकृतिक प्रकोप
र पर्यावरणीय प्रदूषण
तिम्रै चाहना हो
ओ मान्छे!
कहिल्यै हेक्का राखेनौ विपतको
विनाश बोकेर बौलायो प्रकृति
तिम्रै चरम लापरवाहीको परिणाम
भोग अब ऐश्वर्य
धनी गरिब कसैलाई छोड्दैन प्रकोपले
एक रमिते सरह
आफ्नै कुकर्मको फल चाख
तिमीले हिजो जे गर्यौ
आज भोग्दैछौ
अब चुपचाप स्वीकार ।