प्र​स्तोताㅡ प्र​मोद सारंग

पुष्कर लोहनीका सिग्नेच​र ㅡकविता

प​रिच​य​:
ㅡㅡㅡㅡㅡ

पुष्कर लोहनी

पुष्कर लोहनी

ज​न्म : १९९५ चैत २० ग​ते ( काठ​माडौँ )
शिक्षा : एमए (नेपाली ), एमए, (अङ्ग्रेजी )
प्राध्यापन : २५ वर्ष, त्रिचन्द्र कलेज

कार्य:

२०१६ सालमा त्रिचन्द्र कलेजको ‘ज्योति’ पत्रिका ‘चिसो चूलो तातो खरानी’ कथा (पहिलो प्रकाशित)

. २०१७ सालमा केपी शैलीद्वारा सम्पादन गरिएको ‘इन्दु’ पत्रिकामा संलग्न भई कथा, कविता लेख्न थालेको

२०१८ सालदेखि ‘हालखबर’मा सहायक सम्पादक

कृति:

•चहकदार मइन्टोल र पिलपिले लालटिन (अनुसन्धान तथा आलोचनात्मक लेखको सङ्ग्रह : २०३९)
• कौडी (कवितासङ्ग्रह : २०४०)
• भट्ट – मोतीराम भट्ट (अनुसन्धानात्मक आलोचना : २०६४, दोस्रो संस्करण- २०८०)
• धरालोको टुप्पो (कथासङ्ग्रह : २०७०)
• अदृश्य मान्छे (उपन्यास : २०७७)
• ध्यान कविता (कवितासङ्ग्रह २०७९)
• पर्यायवाची कोश (शब्दकोश २०३१)

संयुक्त प्रकाशन:

• पीपलको बोट (चोकासङ्ग्रह : २०६३)
• चौटारी (हाइकुसङ्ग्रह : २०६५)
• केटाको थाम (ताङ्कासङ्ग्रह २०६९)
• भूकम्पको चाङ (हाइकुसङ्ग्रह २०७३)
• रूखकटहर (सिजासङ्ग्रह : २०७४)
• जूनको छाया (कटौतासङ्ग्रह : २०७६)
• प्रेम प्रणय (कटौतासङ्ग्रह : २०७७)

सम्पादन:

• बगैंचा (साहित्यिक पत्रिका संयुक्त २०१७)
• नयाँ कविता (कवितासङ्ग्रह : २०२१)
• बिम्ब (कथासङ्ग्रह : २०२६)
• पर्यायवाची शब्दकोश (२०३१)
• नयराज पन्त श्रद्धाञ्जली (२०५९)

पुष्कर लोहनीबारे लेखिएका कृति:

• Pushkar Lohani- sijo, sex and Beyond, Mahesh Paudyal (2066)

• चिनेजानेको पुष्कर- मोहनबहादुर कायस्थ (२०७१)

पुरस्कार:

• वानीरा प्रज्ञा पुरस्कार (२०८०)

[ पुष्कर लोहनीका यौन, प्रेम र प्रणयका कविताह​रूले नेपाली साहित्यमा विशेष स्थान राख्छन्। उनका कवितामा यौन, जीव​न, प्रेमको गहिराइ, र प्राकृतिक सौंदर्यको चित्रण हुन्छ। उनका कवितामा प्रेमका विभिन्न आयामहरू, जस्तै प्रेमको पीडा, खुसी, र सम्बन्धको जटिलताहरूलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।]

पुष्कर लोहनीका पाँच सिग्नेच​र ㅡकविता :

१. बुढ्‌यौलीको जवानी

कस्सिएरै स्वाद लिएथे मायाको
सुकवा तातोतातै पिएको
राती त बुढ्‌यौलीले सताउन थालेछ ।
नखपेको होइन खप्नुसम्म खपेको
आँखै अगाडि ठिङ्ङ्ग फैलिँदै गएको हात
घिसार्दै परसम्म लगेर थचार्दा
फुस्केको पत्तै भएन
उफ्रिदै नाच्न थालेको आँखा
वैश उम्लिएर पोखियो अझै ।
लागेछ लाग्नुसम्म लागेछ आफै
अँठ्‌याएर घिसार्दा पनि पत्तो भएन
सिरकले छोपिएको जिउँदो मन ।

२. कुटो

दुइटा सेता फिलाहरूको कापामा च्यापिएर
देखा परेको सुन्दर कलात्मक
घुम्रिएका काला रेखाहरूले आकर्षित
सानो चोसे गमला
खोजिरहेछ बीउ टुसाउन
त्यसैले म मेरो सानो कुटोले
बिस्तारैबिस्तारै
कस्सिएको माटोलाई खुकुलो पार्दै
सुन्दर फूल फुलाएर लोभ्याउन
भित्रसम्म कुटो घुसारेर बीउ छरिदिन्छु !

३.मृत्युको खाल्टो

गहिरो मृत्युको खाल्टो
मृत्युको नाइके
नाइकेको गाढा सङ्गत सबैसँग ।
उम्लिरहेको मृत्युको झोल
बादलसँग उडिरहेको वाफ
मृत्यु स्वयम् आफैसित टाँस्सिएर पग्लिँदा
वाफ अकमकाएको देखें
वाफको धूवाँ आँखामा छचल्किँदामा
रुँदै कराउँदैमा आकाश खस्ने होइन
ढल्ने छैन जति चिच्याए पनि ।

चिप्लिएर हिलाम्मै कालो शरीर
चितुवाले झम्टिँदा थिलो थिलो भएको आँखा
कटकटिएर सुकेको रगतको गहनाउने गन्ध ।

 ४. उम्रेको बीउ

घुसारेको बीउ उम्रेछ
टुसाएर जराहरूले गमलालाई बेरेछ
गमलाले थाम्नै सकेनछ
टुन परेको गमला देखेर
सबैले भन्न थाले-
झाँगिएको जरा
बाहिर निस्कन मात्र बाँकी छ।

५. पग्लिन थालेपछि

सम्झिनेको पनि तह हुँदो रहेछ
पग्लिन थालेपछि आफै
आफै एकै ढिक्का भएर बल्न थालेपछि ।

सोच्नै नसक्ने भएपछि
बल्नु र बालिनुको सानो घेरा
आफै रित्तिएर कालो कालो दाग मात्र हुनु
तेल सिद्धिएर चिल्लो छायामा
विरक्तिएर सम्झन खोज्दा आफैभित्र
खुम्चिएर एउटै डल्लो देखिनु पर्दा
आँखा चिम्लिँदै आफैलाई अलग्याउने इच्छा

बिर्सिंदै गएको मन
आँखा अगाडि एक्लै उभिएको छाया
आफ्नै छाया आफैलाई हेर्दै ।

ㅁㅁ