सपनाहरूको भारी बोकेर चढ्दैछु जलजला
थुप्रै सिसिफसहरू छन् बाटोमा
विचराहरू
सजाय भोग्दैछन्
माथि माथि चुचुरोसम्म
ढुङ्गा धकेल्दै छन्
विडम्बना
चुचुरो चुम्ने बेला
ढुन्मुनिदै फेदमा खस्छ ढुङ्गा
र खित्का छोडेर हाँस्छन् उनीहरू
सजायलाई पुरस्कार ठानेका छन् उनीहरू
म भने एकोहोरो हेरेको हेरै छु यो दृष्य
जलजलाको रापिलो घाममा
सपनाको बिस्कुन सुकाएर
बसेकी छु एक्लै
टप्प टिपेर मेरा सपना भुर्र उड्छन् चराहरू
हुरूरू हुरीले उडाउँछ केही सपनाहरू
जलजलाको राप र तापले जलेर खाग बन्छन्
मेरा सपनाहरू
तर म जलेको छैन
बुन्दैछु
सजाउँदैछु
मेरो संसार

हाँस्न सिक्दैछु
सिसीफसलाई हेरेर ।