एउटा पेचिलो समय थियो
पहिले ऊ स्वच्छ मनले बोल्थ्यो
मनका कुरा खोल्थ्यो
देशमा राजनैतिक विद्रोह जन्मिएको बेला
शहरमा क्रान्तिको आगो सल्किएको बेला
गाउँ, गाउँमा द्वन्द्व बल्झिएको बेला
साह्रै पीडामा अल्झायो उसलाई त्यो समयले
खर्लप्पै निलेको थियो उसलाई आफ्नै गरिवीको कुचक्रले

उनीहरू सहानुभूति देखाउँथे उसलाई
कठै विचरा ! भन्दै वनावटी भावना प्रकट गर्थे
संघर्ष गर्नुपर्छ भन्थे
उन्नति प्रगति गर्नुपर्छ भन्थे

उसले संघर्ष गर्नुपर्दो रहेछ भन्ने सिक्यो
उसले प्रगति गर्नुपर्दो रहेछ भन्ने बुझ्यो

समयको अन्तरालसँगै
अथक् मेहनतसँगै
उन्नति हुँदै गयो उसको
दिनचर्या सबै फेरियो
सङ्गत फेरियो
उठ, बस फेरियो
आफन्तहरूसँगको समय तालिका फेरियो
व्यस्तता बढ्यो, उसको जिम्मेवारी थपियो
उसका जिन्दगीका अवस्थाहरू फेरिए
उसका जिन्दगीका व्यवस्थाहरू फेरिए

आजभोलि नबोल्ने बनाएका छन्
आफ्नै आफन्तहरूले उसलाई
अहिले ऊ बोल्दै बोल्दैन
बोल्नै सक्दैन र ऊ बोल्नै खोज्दैन पनि
उसलाई मौनब्रत लिने अवस्थामा पुर्याएका छन् उनीहरूले
उसका नजिकका आफन्तहरूले

उसले नराम्रो गरेकै होइन
कसैको केही विगार गरेकै छैन
उसका हिजोका साथीभाइहरु ऊसँग बोल्नै सक्दैनन्
मनपेट खोल्नै सक्दैनन्
अहिले ऊ लाटो जस्तै भएको छ
उसलाई के बिराएँजस्तो भएको छ

हिजो उसको जिन्दगी औंशीको रात थियो
त्यही अँधेरी रात छिचोल्न उसले
जूनकीरीले जस्तै धिपधिपे बत्ती बाल्ने कोशिस गर्यो
कालो अन्धकारमा पिलपिल मधुरो प्रकाश देखिँदा
भयङ्कर ज्योति फिँजाएको आभास भयो
उनीहरूलाई

जब प्रभाव फैलाउन थाल्यो समाजमा उसले
उन्नतिका पाइलाहरू देखिन थाले
प्रगतिका डोबहरू लेखिन थाले
आफ्ना भनाउदाहरूलाई
१०४डिग्री सेल्सियसको हनहन्ती ज्वरो आयो
असह्य भै अत्तालिए उनीहरू
आकाश खसेजस्तै भान भयो उनीहरूलाई

अहिले
नजिकबाट उसको विगतलाई नियाल्नेहरू
निरन्तर तिरस्कार गरिरहेछन् उसलाई
उसकै खाँटी आफन्त भनाउँदाहरू
के निहूँ पाउँ कनिका केलाउँ भनेझैँ
अनायासै दुत्कारिरहेछन् उसलाई
नयाँ नयाँ कथाका तानाबाना बुनेर

शायद ! उनीहरू
पुरानै अवस्थामा फर्किएको हेर्न र देख्न चाहन्छन् उसलाई
समयको सुईलाई उल्टो घुमाएर रमाउन चाहन्छन् उनीहरू
समयको गतिलाई अड्याई राख्न कस्ले पो सक्छ र ?

वीरगञ्ज