घाउहरू अनायासै दुख्दैनन्
यो त जीवनको यात्रासँगै
लयबद्ध भएर दुख्छन्
कहिले हिँडाइ
कहिले भोगाइ
कहिले सिकाइ त
कहिले बिछोडको
मूल फुटाएर दुख्छन्

छैनन् दुखाइका कुनै सीमारेखा
नत छ, दुखाउनेका चित्तमा
कुनै बाँध
बस यिनीहरू उब्जन्छन्
अस्वाभाविक र अदृश्य रुपमा
कुनै सामुद्रिक छालले
अकस्मात आएर
नदी किनारालाई
निलेसरी

कहिलेकाहीँ सुन्दर बाटिकामा
चरिरहेको मृगलाई एकहुल
बाघ, स्याल र हुँडारहरूले
पञ्जामा राखेर चिथोरेझैँ
कहिलेकाहीँ शान्त आकाशमा
मेघ गर्जेझैँ
कहिले शान्त सरोवरमा पौडिदै गरेका
हंश र माछाहरूलाई
गोहीले सर्लक्क पारेझैँ
घाउहरू शान्तपथमा नै शुरू हुने रहेछन्
बिना संकेत आइसकेपछि
नरोकिने हावाको झंकार बनेर

घाउहरू प्रकृतिको उपहार नै हुन्
जसलाई जीवन रहेसम्म हरेक
प्राणी, वनस्पति र प्रत्येक जीवले
सहन गर्नै पर्छ
घाउहरू भोग्नै पर्ने कथा कविता
साहित्य पनि हुन्
जसलाई जन्मेपछि निर्बाध रुपमा
वहन गर्नैपर्छ
पढ्नै पर्छ
जसलाई अझै गाढा कलमले
कोरिएका हुन्छन्
जुन घाउहरू अव्यक्त, अदृश्य भएर पनि
पीडाको अन्तस्करणबाट कोरिएका हुन्छन्
जसलाई आफ्नै हृदय आकाशको
गहिराईमा राख्नु पर्छ
जुन आफ्नो अस्तित्व राख्न र
एक पल बाँच्नका खातिर
खोपिएका हुन्छन्
आफ्नै मानेका एक जमात
कठोर परिवेशका
आकृतिहरूबाट
बिना कुनै दोष आइपरेका हुन्छन्
हरदम एउटा मुटुको कुनामा
राखेर अझै यादहरू गाढा बनाइदिन्छन्

यसैले पनि घाउहरू
महत्त्वपूर्ण हुँदा रहेछन्

घाउ
विषालु सर्प
तीखो काँडा
धारिलो हतियार
प्रकोप र दुर्घटनाबाट मात्र बन्ने होइन रहेछन्
एउटा मानव आकृतिको
चेतना हराएपछि
भाव शुन्य र
दूषित मस्तिष्कले
दिएका शब्दहरू
जिब्रोसम्म पुर्याएर
ईर्ष्याको विष ओकलेपछि
गहिराईमा गएर पीडाको
आगमनपश्चात् बन्ने रहेछन् ।