माटोको कण कमजोर हुँदैन
पानीको थोपा कमजोर हुँदैन
कमजोर हुँदैनन् आगोको झिल्का
हावाको झोक्का
र बन्द कोठाको अन्ध आकाश
कमजोर हुँदैन अस्तित्वको एक अंश पनि
कृपया, मलाई कमजोर नसोच्नू
छरिएको जीवन
पलाइजान सक्छ
सुकेको ओठ
रसाइजान सक्छ
भासिएको आधारमाथि
फेरि उभिन सक्ने सम्भावना पनि त छ
म लडेको हुँ
हिँड्नै नसक्ने भएको छैन
म बसेको हुँ
हरेस खाएको पनि त होइन
हातपाउ गलेका हुन्
कामै नगर्ने भएका पनि होइनन्
म हतासिएको हुँला
निस्सासिएकै पनि छैन
जिउँदाहरूको लागि त
यो जिएको प्रमाण हो
उठूँला नि लडेँ भने
बस्दाबस्दै थाके हिँडूँला
हिँड्डाहिँड्दै थाके बसूँला
जीवन भन्नु चलिरहनु न हो
कोही भए सँगै हिडौँला
कोही नभए एक्लै हिँडूँला
एक्लै लडूँला
जीवन आफैँमा द्वन्द्व न हो
दुख्नै छोडे
मन हुनुको के अर्थ
तर यति चाहिँ बुझ्नुहोला
एक झिल्को काफी छ सँसार जलाउन
एकै झोक्का काफी छ दीयो निभाउन
एक थोपा काफी छ जीवन बचाउन
एकै कण काफी छ दाग बनाउन
रित्तो आकाश काफी छ पूरा हराउन
जीवन भन्नु एकमा अडिएको छ
जीवन भन्नु एकमै सकिएको छ
म एक हुँ
म कमजोर होइन
म कमजोर छैन
नीलकण्ठ-३, धादिङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।