ऋतुको मनोपरिक्रमा गर्दै
सर्वाङ्ग नग्न, बिल्कुल निर्वसन
सर्लक्क पात झरेर ठिंग उभिएका यी
सडक छेउका रुखहरू–
यिनमा, ऋतुस्नानपछि
आफ्नै प्रतिविम्ब पाउँछु म यसवेला
ऋतुऊर्जा आत्मसात् गरेर सबैवेला,
ओहोर–दोहोर गर्छन् पातहरू
हावाको सहयोगमा कालो चिल्लो सडकमा
राजहंसको जलक्रीडा स्मरण हुन्छ यसवेला
र आफूलाई यिनैभित्र पाउँछु म वेलावेला
हो,
सडकलाई नदी ठानेर
पौडी खेल्न तयार छन् यी नग्न रुखहरू
र यिनैमा आरोपित हुँदै जान्छु म वेलावेला,
मेरो छाया
पोखरीको तरङ्गमा लहराएजस्तै
प्रवाही नदीमा विघटित भएजस्तै
स्वीमिङपुलमा (स्नान कूपमा) माछोरूपले
आफैं विलुण्ठन गरेजस्तै
यतिबेला,
आफ्नै मनस सरोवरमा
अथक क्रीडा गरिरहेछु म
कति मीठो छ मेरो आत्मरति
आफैंभरि !
सबैवेला !
ऋतुको पत्र पल्टाएर अर्को
रुख र लहराको आलिङ्गन संझन पुग्छु
अवश्य, अभिसार होइन त्यो, लहराको
प्रकृत आकर्षण हो वेलाको
हो,
मच्चिएका छन् हावाको तालमा
अँगालिएका छन् लीलापूर्वक
र यिनैसँग झुत्तिन्छु, पीङ खेल्छु म
मनभरि !
यतिवेला !
हो,
रुखप्रतिको आकर्षण
सकिंदैन क्यार जीवन भर!
टुँडिखेलको वरिपरि प्रशस्तै थिए –
कुरकुरी लगाउने वयस्क चिल्ला तिघ्रे रुखहरू
विनोदका असल चौतारी भएका थिए उसवेला
हेरेर र छोएर मात्र पनि तृप्ति मिल्थ्यो
वेलावेला
हो,
लुकाएकै छन् आज पनि त्यो भेद धेरैले
र यो पनि आरोपित क्षणको स्मृतिविम्ब हो
यसबेला
र छोइने भएर रुखमा एकाकार हुन्छु म
यस्तै वेला ।
माधवी प्रशस्त संवेगले भरिई
र आक्रामक प्रहार गरी अशोकलाई
र थुकी त्यसलाई र अँगालो हाली एक रागले
र चुम्बन गरी र ढोगी नतमस्तक भएर
र कामना पूर्ण हुने शर्त राखी उर्वरा धरती भएर
र अमोघ वीर्यको चाहना गरी
पुरुष तत्त्वलाई हाँक दिएर
मातृत्वको कामना गरेर
(यो त अझ वैदिक कालकै कुरा होला)
र अझै एक ऋतु पर जान्छु
र गर्मी ऋतुको समुद्र किनारमा
तातो बालुवाभरि मडारिन्छु म
सागरभन्दा ठूलो सागर छ मनमा
लहरभन्दा ठूलो लहर छन् उर्लिएका
सर्वथा दुर्निवार यतिवेला !
यसैवेला !
तै पनि भन्छन् :
नीरव, निश्चल
शान्तिको प्रतीक रे समुद्र
थोरै व्यंग्यजस्तो लाग्छ मलाई
कताकता !
अतिशयोक्ति नमाने
सजिलै भनिदिन्छु– छेउमा यत्रो सागर छ
किन्तु मन अझै तीर्खै छ
कताकता !
हो,
लहर भित्रका हुन्
या बाहिरका
मनाउने
समाउने
तान्ने
छोप्ने
र
बगाउने
खेल खेल्छन् मनभरि
र अलिकति रहस्य
र अलिकति दुर्बोध छ यो खेल
र कति मीठो छ आफैंभित्र !
यतिवेला !
र यस्तै वेला !
र भन्छन् भन्नेहरू
‘गर्मी ऋतुका
समुद्र किनारका युवतीहरू
र गर्मी देशका नागा बाबाहरू
यिनमा धेरै दूरी रहँदैन’
यो अर्थपूर्ण रहस्य
सजिलो मिथक हुन खोज्दैछ
यतिवेला !
हो,
म पल्टिएको ठाउँसम्म आएर
साउती मारेर जान्छ यो लहर
कानैमा,
म पूर्ण पुलकित हुन्छु
र आफैंभित्र संवेग सम्पुटित भएको पाउँछु
शायद ऋतुमति भएछ यो मन
(सगरको प्रलयङ्कार रूप आफैंभित्र थुनेर)
दावाग्नि उर्लिएकै छ
वर्षाले शमन हुने स्थिति रहेन
फल र अन्नको उज्यालो ऋतुमा पनि
मनले बयली खेल्न सकेन
किन किन !
ऋतुको मनोपरिक्रमापछि फेरि
यिनै नग्न रुखहरूमा
आरोपित हुन पुग्छु म
यस्तो वेला!
तातेको जीउ थाकेपछि
हिमऋतुको आकाशभरि
घुम्टी मार्छ यो मन फेरि–
अँठ्याउनु पर्छ मलाई कक्र्याउनु पर्छ
खाप्नु पर्छ मलाई तताउनुपर्छ
हो लुल्याउनु पर्छ
उर्वरा हुनुपर्छ मैले
ऊर्वरा !
यस्तै वेला !
प्रखर हिमपातलाई कतै
कठोर नग्नपर्वत भएर सहन्छु म
प्रौढ भएर
कतै हरित पर्वत भएर थाम्छु
पूर्ण व्यस्क भएर
कतै फूल र वनौषधि भएर आकर्षण थप्छु
यौवन केलिको अभिसार
मनमा राखेर
र
प्रस्तुत हुन्छु आज पनि
स्वाद र सुवासको संगम भएर
हिमवीर्यको ग्रहणपछि
नव–सृजनको कामना गरेर !
हो,
त्यसैले
म भू–प्रकृति
म हिमऋतु
दुःसह मर्दन र
आतृप्त केलीको रहस्यमा डुब्न
ऋतुमति भए छ यो मन
ऋतुकै परिक्रमा गरेर
समुद्री तिर्खा लिएर !
(नोट – जनवरी १९ सन् २००९ मा लेखिएको यो कविता प्रकाशित गर्नका लागि लगेका एक जना सम्पादकबाट प्रकाशित भए नभएको जानकारी प्राप्त नभएकाले सामान्य संशोधनसहित पुनः प्रकाशनका लागि तयार गरिएको हो । – लेखक )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।