निर्जन जंगलमा
हावासँगै
लहरिँदै खेल्थेँ

बतास चल्दा
जसरी
खेतका गराहरूमा
जीवनका बालाहरू बयली खेल्छन्
जसरी
वसन्तका डालीहरूमा
रहरका पातहरू फहराउने गर्छन्

जंगल नै स्वर्ग थियो
मेरा लागि
चुलिएका थिएनन् सपनाका महलहरू
ठडिएका थिएनन् आकांक्षाका भ्युटावरहरू

जंगलमा
एक दिन
एकजना माली आयो
माली
अर्गानिक सौन्दर्यको खोजीमा थियो

जंगलमा जन्मिएर
जंगलमा नै हुर्किएकी
जंगली फूल म
अबोध थिएँ
निर्दोष थिएँ
उसले मलाई
जतनले उखेल्यो
जमिनबाट
र लगेर सार्‍यो
स्वार्थको साँगुरो बगैँचामा

म रङको इन्द्रेणी थिएँ
अरु फूलहरूभन्दा भिन्न थिएँ
रुप र वासनामा विशिष्ट थिएँ

बगैँचामा
एक दिन
एकजना व्यापारी आयो
माली व्यापारीसँग फुसफुसायो
“मैले मायाले हुर्काएको अनमोल फूल
संसारकै रोज्जा रातो गुलाफ
फूलहरूको राजा
अमर प्रेमको प्रतीक”

र मालीले
बेचिदियो मलाई
व्यापारीको हातमा
प्रेम दिवसको अवसरमा
सजायो व्यापारीले
आफ्नो उपहार पसल
र पसलको मुख्य आकर्षण
बनेँ म

पसलमा
उपहार किन्न आउने
कुनै जवान प्रेमीको नजरमा
जँचिएँ म
असंख्य फूलहरुको माझमा
पराएर मन
मलाई नै खरीद गर्‍यो उसले

पसलेले
जतनले चुँड्यो मलाई
हाँगोबाट
र थमाइदिँदै भन्यो
प्रेमीको हातमा
“प्रेम प्रस्तावको लागि
यो भन्दा उत्तम
अर्को कुनै उपहार छैन

प्रेम दिवसको दिन
प्रेमी युवाले
आफूलाई मन परेकी युवतीको हातमा
थमायो मलाई
र फुसफुसाउँदै भन्यो–
“यही फूलको कसम
तिमीलाई म
यो फूललाई जत्तिकै माया गर्छु”

त्यही साँझ
फालिएँ म फोहोरको डंगुरमा
फूलका अरु अनगिन्ती थुँगाहरू सँगै ।