जाऊ, आऊ कहिले भनिनँ
अनवरत थियो प्रेम
तिमी जे गर, त्यो तिम्रो खुशी हो
स्वीकारेको थिएँ, सप्रेम

पहिचान थिएन, परिचय थिएन
बस, अञ्जान थिएँ
मेरो थिएन, आफ्नो थिएन
बस, बेजान थिए

नभएरै भएँ तिम्रो
आफू को भन्ने नै भुलेछु
निष्ठुरीलाई मन दिएको थिएँ
पर्खाइमा ओइलाएछु

भनेकै थिएँ बाटो फरक
अनि, गन्तव्य नि फरक
मानेर उसलाई आफ्नो
दुख्छ मुटु चरक चरक

म हैन, छैन कतै
बस, थियौ तिमी नै तिमी
त्यो भ्रम पनि टुट्यो सिसासरि
छ्याङ्ग बिहानी भो जसैगरि ।