आज रगत र पसिना तिमी एक्लै बगाऊ
भोलि खुसीको आँसु बगाउनलाई तमाम गोही भेटिन्छन्
तिम्ले दुःख बुझ्छौ अनि दुःखले जिन्दगी बुझाउँछ
तर तिम्लाई बुझ्ने यो संसारमा आमाबाहेक सायदै कोही भेटिन्छन्

बरु गाह्रो बाटो एक्लै हिँड्नु खुरी खेल्दै खेल्दै
कसैको नजरबाट गिरे पछि उठ्न गाह्रो हुन्छ
तिमी, तिमी नै रहनु, कोही आउन, बसुन या जाउन
नपार्नु बानी कसैको, बानी परेपछि छुट्न गाह्रो हुन्छ

कोही पनि हुँदैन सुरुदेखि अन्त्यसम्म आफैँसँग
मनको कुरा साट्न सिक्नु सकेसम्म आफैँसँग
जसलाई एकदम नजिकको ठान्छौ तिमी, ऊ नै टाढा
भइदिन्छ जब दुःखले तिम्रो हात समाउन थाल्छ

रातमा सुत्न गाह्रो हुन्छ, निद्राले साथ छोड्छ
जस्तो कि धेरै न्यानो पाएपछि, बरफले हात छोड्छ
दुनियाँ बाङ्गो छ मित्र, तिमी फेरि सीधा हिँड्न खोज्छौ
र त मोड आएपछि यहाँ सबैले बाटो मोड्छ।