न समाजले, न संस्कृतिले, न त संस्कृतिका उपज
तिम्रा संस्कारले
न धर्मले न धार्मिकताले,
न धर्मका अंकुर तिम्रा भगवानले
रोक्दैनन् अब यी पाइलाहरू,
छेक्दैनन् अब यी बाटाहरू
तिम्रा इज्जत रुपी तागराहरूले
न विधिले, न नीतिले न त आघातले नै
छेकिन्छन् आधारहरू
न परम्पराले, न त्यसको प्रहारले
पखालिन्छन् अपर्याप्तित प्रयासहरू
तिमीले दिने गरेका तीनधर्के राता रङहरूले
लेखिदैनन् अब कसैका भाग्यहरू
तिम्रो घर, तिम्रो थर, तिम्रो चुरा र पोतेमा बाँधिदैनन्
अब कसैका तक्दीरहरू
तिम्रो पाउमा सर्वोत्तम बास खोज्न
आउँदैनन् अब कुनै नवीनतम् आशहरू
तिम्रो गाँसमा उपहास रोज्ने भेटिदैनन्
अब कुनै दासहरू
तिम्रो आयु लम्ब्याउन अनि हाम्रा प्राकृतिक पापहरू धुलाउन
रोपिनन् अब बेल अनि दतिवनका पातहरू
चन्द्रावतीहरू आज “असंस्कारी”
तर आनुशासित अपनत्वका घानी छन्
आफूहरूलाई आज यिनी स्वाधीन नास्तिक भन्छन्
सीताहरू आज दस रावणसँग एक्लै लड्छन रे भन्छन्
चारित्रिक अंकुश लगाउने राम नै पनि त
हामीलाई किन चहिन्छ रे
पुरुषसभाका बीच नाङ्गिदा अनि
नङ्ग्याउनका लागि पतिबाट बेचिदा
भाग्यमानी विचरी हुँदैनन् रे आजका द्रौपदीहरू
सतिहरू हाम फाल्दैनन् रे बेइज्जतीका लागि आज अग्निकुण्डमा
पर्खेर बसेका छैनन् रे मीरा र राधाहरू
सोह्र सय गोपिनीका एकल पति कृष्णलाई
सुपर्णखाहरू इज्जत लुटिदा, तिम्रो रामराज्यमा
स्वयं कानुन बन्न थालेका छन रे आज
आज आत्तिदैनन् रे कुनै आमाहरू छोरी ढिलो घर फर्किदा
आज डराउँदैनन् रे कुनै बाबाहरू छोरीले आवाज उठाउँदा
आज बडो रमाइलो छ
रमाइलो छ कथाहरूमा , अनि गाथाका गाथाहरूमा
धितोहरूमा, पात्रोहरूमा
इतिहास अनि शास्त्रहरूमा
संगमरमरमा, शालिग्रामहरूमा
वेद, उपनिषद अनि पुराणहरूमा
बडो रमाइलो छ आज
तिम्रो रामराज्यमा
तिम्रो साम्राज्यमा
काश…
इतिहास ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।