शरीरको पीडा किन शरीरले झेल्दैन ?
शरीरको पीडा मनले झेल्छ र आवाज बनेर निस्कन्छ
हो, शरीरको पीडालाई मनले छुन्छ, देख्छ र रुन्छ
उसकै शून्यताले सृजनामा आहत भर्छ
मन त शरीरको यात्रा यन्त्र हो
संयोगले बनेको सृजना
शून्य फोरेर चुहिएको भाव तरंग
त्यही तरंगलाई मनले चलाउँछ
र एक ईश्वरको सृष्टि गर्छ
ब्रह्माण्ड पूर्ण छैन
पूर्णताको लयमा हुन सक्ला
अनन्त संयोगहरू जुटाउन सक्ला
तर ब्रह्माण्डले शून्य त्याग्ने छैन
संसारको घोषित लक्ष्य नभए पनि
यो लक्ष्य विहीनतामा भौंतारिएको लक्ष्य हो
सृष्टि पनि भौंतारिएको छ
लक्ष्य विहीनतामा कुदेको छ
सृष्टिजस्तै म अपूर्ण मानव
पूर्णताको खोजी गर्ने स्वाङ पार्छु
भौतारिँदै जाँदा डर पलाउँछ
अनि सुरक्षाको लागि ईश्वरको सृजना गर्छु
डर, घमण्ड र घृणा मेरो शरीरका सृजना
मेरो ब्रह्माण्ड जत्रो मन यही शरीर हो
शरीर भन्नु सृजना, एक संयोगको सृजना
म पूर्ण नहुनु नै ईश्वर हो
अपूर्ण हुनुको कारण ईश्वर
म अपूर्ण हुनुको कारण ईश्वर !
संयोगले पृथ्वी बन्नुको कारण ब्रह्माण्ड
ब्रह्माण्ड बन्नुको कारण शून्य
न चेतना, न शक्ति, न पदार्थ
केवल शून्यताको संयोग म
लक्ष्यहीनताको भागदौडको पसिना सृजना
सृजनाको संयोग म
न त ब्रह्माण्डको कुनै लक्ष्य छ
न पृथ्वीको कुनै लक्ष्य छ
लक्ष्य विहीनताको बतासे तनाव
म र मेरो मन, समग्र अस्तित्व र पृथ्वी
भौंतारिनु नै वास्तवमा सृजना हो
भन्नेले जे सुकै भनून्
संयोग नै सृष्टिको गुरू हो
अस्तित्वको कर्ता शून्य हो
पागलपन ब्रह्माण्डको लक्ष्यविहीनता
मेरो आनन्द र पीडाको स्रोत मन
मनको भाव शरीरको अदृश्य प्रवाह
प्रवाहको उत्पत्ति कारक संयोग
शून्यताको विरोधाभाषमा मन जन्मनु
मनको विरोधाभाषमा आवाज निस्कनु
त्यही अस्तित्वको पहिचान हो
बिना अस्तित्व भाव हुनै सक्दैन
त्यसैले भाव शरीरको शून्य अंग हो
घमण्ड नगरे हुन्छ कसैले
पृथ्वी नभए पनि ब्रह्माण्डलाई केही हुँदैन
सृष्टि र सृजनाका लयहरू जन्मी रहन्छन्
संयोगमा सृष्टि भौतारिँदै अघि बढ्छ
र शून्यताको असीमिततामा अर्को संयोगले जन्म लिन्छ
मेरो विकल्प म
मान्छेको विकल्प मान्छे
मान्छे हैन सृष्टिको विकल्प
शून्यतालाई लक्षको प्रेरणा भन्नेहरू पनि छन्
शून्यता विकल्प हैन संयोगको कारण हो
शून्यताको पनि कुनै लक्ष्य हुन्छ र ?
त्यो त आकस्मिक संयोग हो
म मेरै लक्ष्यको अधिनमा छैन
म सृष्टिको कुनै लक्ष्य बनिन
म कसैको लक्ष्यअनुसार आएको हैन
सूर्यले सृष्टिको लागि किरण छोड्दैन
न त लक्ष्य बनाएर घुम्छ नै
यो सब शून्यता भित्रको संयोग हो
मेरो ईश्वरजस्तै कल्पना हो लक्ष्य
मेरो डरको कारण
मेरो सान्त्वना
शरीरको भित्र रहेको अंग विकार
शरीरको सृजना मन
डर मनोविकार,
सुरक्षा भावको उत्तर ईश्वर
म नै मेरो ईश्वर हुँ
मेरा संयोगका सृजना
मनले शरीरलाई दिने सान्त्वना
ईश्वरको सृजना मैले गरेको हुँ
मानवबाहेक ब्रह्माण्डमा ईश्वर छैन
मैले कविता कोर्नु संयोग
मैले हातखुट्टा सार्नु संयोग
जिउनु मर्नु सबै संयोग
सृजना र संहार शून्यताका संयोग हुन्
मनको भ्रम सपना जस्तो संयोग
अरुलाई आफूजस्तै देख्नु
कसैलाई प्रेम गर्नु र भिज्नु
सबै शून्यताको विष्फोट पछिका संयोग
शून्यतामा अकस्मात हलछल पछिको संयोग
शून्यले सृष्टि गरेको संयोग
र शून्यतामा रचिएको सृजनाको संयोग।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।