नियालिरहेछु
बाका पैताला
धाँजा फाटेका
कुरुप गह्राहरू छन् बग्रेल्ती
तैपनि
गाँज हालेकै छ सन्तानले
पसिनाको बलमा !

गरिरहेछु
दिलले स्पर्श
पलपल
बाका पैतालामा
तातिरहेको छ व्यथा
छड्किरहेको छ रोदन
तर पनि
भरोसाका सयौं नदीहरू छन्
बाका पैतालामा
जो
लक्ष्यको सागर भेट्न
दौडिरहेका छन् निरन्तर
रक्ताम्य बन्दा पनि मानवताको मार्ग!


उभिइरहेको छु
टेको पाएर
तिनै
बाका पैतालाको !

चिथोरिइहँदा पनि
भ्रष्ट शासकका नङ्ग्राहरूले
अथाह संकल्प बोकेर
बढिरहेका छन्
बाका पैताला अगाडि अगाडि
नाघ्न नदिन
अपराधको पराकाष्ठा !

काश
बाका पैताला
जीवन हुन् कर्मजीवीका
जहाँ
बगरहरूको सौन्दर्यमा
नदी
सुसेलिरहन्छ कर्मको गीत !

निथ्रुक्क भिजे पनि
आँशुले मन
बाका पैताला
रहरका भमराहरूसँगै
डुल्छन् फूलबारीमा
र रोप्छन् सच्चाइका फूलहरू !

जब
फुल्छन् सच्चाइका सयपत्रीहरू
बाको संघर्षको वैभवले
तब
भरिन्छ
इन्द्रेणी रङ
सन्तानको भविष्यमा !

मालारानी, अर्घाखाँची