समयले थापेको गाँठाहरूको बल्छीमा
उनिएको छु – गँड्यौलाजस्तै

दुरूह परिस्थितिका नरभक्षी माछाहरू
मुख बाउँदै आउँछन्
झुम्मिन्छन् वरिपरि
लुच्छन सहाजताको आँखा
चिथोर्छन् शकुनका गाला
र घाइते बनाउँछन्
भर्खर बामे सर्न लागेका खुसीहरूलाई

एउटा गाँठो फुकाउँछु
फेरि अर्को गाँठो पर्छ
फेरि फुकाउँछु र फेरि अर्को पर्छ
गाँठाहरूले छेडेको गुरिल्ला युध्दमा
पराजित भएर पटक पटक
बन्दी बनेको छ सम्यक समय
क्लात छ मान्छे हुनको सौन्दर्य
परिस्थितिका दुरूह गाँठाहरूबीच
गुजुल्टिँदा रहेछन् विचारहरू
गाँठो पर्दो रहेछ सपनाको बाटो
गाँठो पर्दो रहेछ रहरको बिरुवा ।

गाँठो पर्नु परे पनि-
-पर्न पाए हुन्थ्यो जस्तो लाग्छ
पिङको लठारो बाँध्ने गरालाहरूमा
जहाँ मच्चिन्थे जीवनका रहरहरू
-हुन पाए चुँडिएका मन जोड्ने तारहरूमा
जहाँ पलाउँधे पुराना हाँगाहरूमा
सम्बन्धका नयाँ-नयाँ पातहरू
-बालकले चङ्गा उडाउने लट्टाईका धागाहरूमा
जहाँ उन्मुक्त हाँसो खेल्थे अनुहारका आँगनहरूमा

गाँठोले अल्झाएको छ-
समयको लहर पक्रेर हिंड्ने खुट्टा
जमाएको छ बरफझैं दौडिरहने पौरखको नदी
आँखैअघि चिप्ल्याएर दिन, महिना र वर्षहरू
उभ्याएको छ, अकर्मण्यताका नलीहाडको धरहरा
र हेरेको छ उचाइबाट-
जीवन उल्झनको कठिन मल्लयुध्द

आफ्नै प्रतिबिम्ब जस्ता उल्झनहरू
पछ्याई रहन्छन् हरेक घुम्ती र मोडहरूमा
आफ्नै उज्यालोमा देखापर्ने उल्झनहरू
निष्प्रभ जीवनलाई तरङ्गित बनाएर जान्छ

गाँठाहरूको गठजोडको जंगल छिचोल्दा-छिचोल्दै
अचेल त लाग्न थालेको छ-
जीवन जीवन जस्तै छ
र त उल्झन र गाँठाहरू छन् ।