गरिवीमा जन्मिएँ, पढ्न मैले पाइनँ
जीवन चलाउन हातमा सीप केही छैन
गाउँबाट काठमाडौँ आए काम खोज्न भनि
भौतारिँदा चारतिर काम पाइनँ केही पनि

जीवन चलाउन गर्नु थियो काम
केही सीप नहुँदा खान गाह्रो भयो माम
बसपार्कमा पानीपुरी बेच्ने काम थालेँ
त्यही कमाईले परिवार र आफ्नो पेट पालेँ

खर्च कटाई दुई चार पैसा जम्मा गर्दै थिएँ
सानो थियो परिवार सपना ठूला थिए
खुशी थिइन् मखनिया, सानो थियो बेटा
आफ्नै देशमा म (मखनलाल) लुटिन्छु भन्ने के थाहा

खुशी खुशी चल्दैथ्यो जिन्दगीको यात्रा
बालेनका सेना आए देखाइदिए जात्रा
पानीपुरी पोखाइदिए ठेला पनि लगे
एक पटकलाई छाडिदिनुस् भन्दै म कति रोएँ

कुरा त कहाँ सुन्थे उल्टै लाठी खाएँ
आज आफ्नै देशमा पनि अपमान पाएँ
सडक छेउमा बसी व्यापार नगर्नु उर्दी भयो
के खाने, के लाउने चिन्ताले मलाई निकै सतायो

पटक पटक ठेला माग्न टेकु पनि धाएँ
आँशु झार्दै बालेन सेनालाई बिन्ती बिसाएँ
बेकार थियो हात जोड्नु दुःख दर्द भन्नु
खिसी गर्थे गरीवलाई खै कसरी सहनु

के गरेर खाने होला सताउँथ्यो मनमा
देश बिरानो भएपछि खुशी हुन्न तनमा
देश छाडेर जान्न कतै, भन्ने मनमा लाथ्यो
भन्थे मलाई त धोती तेरै देश फर्की जा हो

मेरो देशमा पनि त म, पराइजस्तो भएँ
छाला र पहिरनले यस्तो भेदभाव पाएँ
३६ जातको फूलबारी हो भन्थे राजाले
देशबाट खेद्न खोजे आज हाम्रा नेताले

सिमानाको रखवाली गर्दै सीमामै हुर्किएँ
आफ्नो देशको जमिनका लागि पराइसँग लडेँ
कहिले घर आगो लाउँथे कहिले चल्थ्यो गोली
आमा खातिर लड्नुपर्छ बस्यौँ छाती खोली

आज आफ्नै देशले माया मारेजस्तो लाग्यो
देशप्रेममाथि नै प्रश्न चिह्न जाग्यो
मधेशीलाई सोच्छन् यहाँ अर्को देशको जस्तो
एउटै देशका जनतामाथि हुने भेदभाव यो कस्तो ?

हाम्रो ठाउँका मेयर भाछन् भन्ने सुन्थेँ
गरीवका लागि लड्छु भन्दै भोट पनि मागे
चुनाव जितेदेखि उनले गरीवलाई पेले
हाम्रो स्भाविमानमाथि लाज नमानी खेले