हरेक वसन्त ऋतु बदलिएझैँ, अनि हरेक मौसम बदलिएझैँ
बदलिने भए मेरो जिन्दगीको कथा पनि कुनै दिन यहाँ
म केको प्रतिज्ञामा बसेकी छु ?
म भित्रको बाहेक कस्ले नै भन्न सक्छ ?
त्यसैले
प्रिय जिन्दगी
आज
यही प्रश्नले
बडो प्रेम जन्माइदिएको छ आफैँसँग
विचरा म,
प्रेमको कति भोको रहेछु,
महशुस गर्दैछु
स्वयम् प्रतिको प्रेम यति प्रिय, यति मिठासपूर्ण पनि हुने रहेछ
यही मिठो अनुभूतिले त
आज
जिन्दगीले केही नयाँ रङ पाएको महशुस गरेझैँ लाग्दैछ
त्यसैले,
प्रिय जिन्दगी
धन्यवाद
कसैको प्रेमले जीवन बनाइदिन्छ भन्ने
अनि त्यही प्रेमले कसैलाई बरबाद नि
तर,
आफू् प्रतिको प्रेम…
यो त केवल निर्माणको सुरुवात रहेछ
जुन प्रेमले बरबादीको बाटो खन्दैन

जिन्दगी प्रिय छ, यही प्रिय अनुभूतिले नै
आज
आफैँलाई माया गर्ने साहस जन्माइदिएको छ
अब मात्र मैले समयसँग कुस्ताकुस्ती खेल्दै, भलाकुसारी गर्दै
जिन्दगीको संघर्षपूर्ण यात्रामा प्रेमिल पाइला सार्दै
अगाडि बढ्नु छ
बस,
मैले समयले लिएको हरेक परीक्षाको
प्रश्नपत्र अव आफैँसँग सम्हालेर राख्नु छ,
त्यसैले समयलाई भन्छु म
प्रश्न सोध्न नछोड,
म पछारिउँला, उठौँला…अनि
उत्तर आफैँ खोजौँला
जिन्दगी त मेरो हो, बाँच्ने मैले हो, प्रश्न तिम्रो भएर के भो त ?
जवाफ मेरो भोगाइले दिने हो,
तिमी फेल बनाइदिन सक्छौ
कसैले गरेको मेरो मृत्युको प्रतिक्षालाई बाँच्ने प्रेरणा ठान्ने म भित्रको म
फेरि तिमीले सोध्ने प्रश्नहरूका
जवाफ दिन तयारी भएर बसेको छ
किनकि,
आफैँले आफैँलाई प्रेम गर्नु पनि एक सुन्दर कला रहेछ
यस्तो एउटा कला,
जसको कुनै रङ हुँदैन, न त कुनै विभेदको गन्ध हुन्छ,
हुन्छ त केवल
आफ्नोपनको आभाष ।

०००

विराटनगर