फराकिलो छ आकाश
जहाँ उड्दछन् चरा, चिलगाडी र चङ्गाहरू
स्वतन्त्र छन् उड्न चराहरू
स्वतन्त्र छन् उडान भर्न चिलगाडीहरू
स्वतन्त्र छन् फर्फर गर्न चङ्गाहरू
नाघ्न छुट छैन कसैलाई आफ्नो सीमा
त्यसैले हेर्दै यिनका स्वतन्त्रता
बसेको छु ढुक्कसँग सम्हालेर अवनिमा

चाहे उचाई चुमुन् चराहरूले
या पूरै पृथिवी घुमुन्
त्योभन्दा पर पुग्न सक्तैनन् यिनले
सीमा पार गर्न सक्तैनन्
गरिछाडे अवश्य हुन्छ दुर्घटना
अनि अनिवार्य छ दु:खद् अन्त्य

त्यस्तै आउँछन् चिलगाडीहरू उडान भरेर
यिनले पनि आफ्नो सीमा र समय हेरेर
हुनुपर्छ अवतरण गन्तव्यमा
आफ्नै गति घटाएर
सुनिश्चित सीमामा
समय र समस्या कटाएर

चङ्गाको झन् चङ्गा छ जिन्दगी
धागोमा झुन्डिएर चुम्छन् स्वतन्त्रता
हावा भरिएका बेलुनहरू
शुष्क पातहरू
सुक्ष्म किराहरू
अनि धुवाँ र धुलोका कणहरूले
पाएका छन् झन् क्षणभङ्गुर जिन्दगी
उडेर हराउँछन् केही समयपछि
यिनको पनि सीमित छ स्वतन्त्रता

त्यसैले मान्छेहरू हो
कृपया ननाघ बन्धनका सीमाहरू
जतनले जोगाएका सीमाहरू
हठ, दम्भ र दुर्भावले दुर्घटना शिवाय
केही दिँदैन् तिमीहरूलाई
नगरौँ आफ्नो सीमाको ख्यालठट्टा
बुझ्नुहोस् तिमी स्वतन्त्रताभन्दा पर स्वतन्त्र छैनौ
बुझ किन पचाएको ?
आफैँलाई भ्रमको भुमरीमा किन नचाएको ?
अब त बुद्धिको बिर्को खोलेर हेर
बन्धनमा छ देह
बन्धनमा छ आत्मा
कर्म गर सीमामा बसेर
धर्म गर कर्ममा खरानी नघसेर
शर्म नगर आजीवन हिलोमा फसेर
बाँच्न नखोज अपराधको सागरमा खसेर
समय र प्रकृतिले हिसाबकिताब राखेर भिडाउँछ जरुर ।
*****

सिगास -२, बैतडी
हाल : मेलम्ची -४, सिन्धुपाल्चोक