प्र​स्तोताㅡ प्र​मोद सारंग

शैलेन्द्र​ साकार​का पाँच सिग्नेच​र ㅡकविता

प​रिच​य​:
ㅡㅡㅡㅡㅡ

शैलेन्द्र साकार

शैलेन्द्र साकार

शैलेन्द्र साकार

जन्म : ३ जनवरी, १९४७ भोजपुर बजार
शिक्षा : एम. ए.(नेपाली), एम. ए. (राजनीतिशास्त्र)
कृति :
• कथामा-नारी हस्ताक्षर (सम्पादन)
• विश्वका सर्वश्रेष्ठ प्रेम कथा (सम्पादन)
• शैलेन्द्र साकारका कविता (कविता संग्रह)
• कोलाज (कथा-संकलन)
• कालपात्र र अरू कथाहरू ( कथासङ्ग्रह )
• सर्पहरू गीत सुन्दैनन् (कवितासङ्ग्रह)
• रामायण र अरू कथा (कथासङ्ग्रह)
• नाङ्गोतार (लामो कविता)
• कवितामा अमेरिका (कवितासङ्ग्रह)
• अमेरिका (कवितामा विधाता)
• अवतार विघटन (उपन्यास) सहलेखन
• आकाश विभाजित छ (उपन्यास) सहलेखन
• अरू सात समुद्र ( कवितासङ्ग्रह )
• भोजपुरे हुलाकीका सन्तान ( विविध​ )
• म​न​को कुनै कुना (यात्रा स​ंस्म​र​ण​ )

सम्पादन : कथामा नारी हस्ताक्षर, मन्त्र, चिन्तन, समष्टि

पुरस्कार/सम्मान :
कविता महोत्सव पुरस्कार (२०२४), मुस्याचु पुरस्कार (२०३९), युगकवि सिद्धिचरण काव्य पुरस्कार (२०४९), छिन्नलता सम्मान (२०५८), अन्नपूर्णा सम्मान (२०६२), दोभान सम्मान (२०६४)
हरिहर शास्त्री सावित्री देवी सम्मान (२०६७), भोजपुर वेलायत प्रतिष्ठान ( २०७०), सत्यमोहन जोशी महोत्सव सम्मान (२०७३), र देवकोटा काब्य पुरस्कार (२०७७), शिख​र​ कवि स​म्मान ( २०७९ )

अभियान:
बुट पालिस अभियान, अस्वीकृत जमात्, सडक कविता क्रान्ति र कथ्य कायाकल्प (content metamorphosis)

१. सर्पहरू गीत सुन्दैनन्

तिमी जतिसुकै पीडाले चिच्याऊ
ईश्वरका विरुद्ध उभिएर सडकमा
अथवा आनन्दले विभोर भएर
जीवनको प्रशंसामा जतिसुकै गीतहरू गाऊ
त्यसको केही मूल्य छैन
तिमी कसैकहाँ सम्प्रेषित हुन सक्दैनौ
कसैलाई ब्युँझाएर केही भन्न सक्दैनौ
सर्पझैँ आत्मरतिमा निमग्न भएकाहरू
गीत सुन्दैनन्— तिम्रो कविता सुन्दैनन्।

मलाई थाहा छ—
तिमी चिरन्तन बोलिरहेछौ
युगका सुख–दुःखका कथाहरू
तिमी बालिरहेछौ सधैँ आफ्नो अस्मिता
तिमी मुटुका भक्कानोहरूलाई पङ्क्तिबद्ध गरिरहेछौ।

तिमी कवितामा खोजिरहेछौ जीवनको लय
तिमी अन्याय र बर्बरताको कथा सुसेलिरहेछौ
तिमी आफ्नो अस्तित्वका
सम्पूर्ण रागहरू बजाइरहेछौ।

तर के गर्छौ मेरा प्रिय गायक
सर्पहरू गीत सुन्दैनन्
संसारका कुनैपनि सर्पहरू
कविता सुन्दैनन्।

तिमीले जतिसुकै चिच्याई–चिच्याई गाए पनि
यी मन्दिरमा खोपिएका
सर्प–प्रतीकहरू बहिरा छन्
कुनै पूर्वनिश्चित चाडको
सामूहिक भोजमा बहुलाएर
यी विषदन्त गोमनहरू टोकिरहन्छन्
कुनै पनि नवजात शिशु भविष्य
र ईश्वरका सामुगर्वोन्नत रहन्छन्।

मलाई दुःख छ मेरा गायक
सर्पहरू कविता सुन्दैनन्
सर्पहरू गीत सुन्दैनन्।

२. भोका अक्षरहरूको लामो यात्रा

हाम्रा भोका अक्षरहरू
जिन्दगीको दोसाँधमा हिंडिरहेछन्
चितुवा जस्तै बाल्दै आँखा ..!
काँढाहरूले निर्धक्क सास फेर्छ यो घारीमा ।

ओरालीमा खुट्टाजस्तै चिप्लिरहेछ
बीचबीचबाट भोका अक्षरहरू महायात्रामा ।
यो मौन जिन्दगीको अर्थ
जहाँ चुपचाप सालिकहरू छन्
जहाँ रगत छादेर निशब्द सूर्य
टि.वी. को रोगी-मैलो तन्नामा पल्टिरहन्छ ।

बोक्सी ऐशेलु नमीठो रक्सी मैं गलाउँदो हावा
घोडा चढ्छ चर्चित गीत र मृत्युलाई
हो, जहाँ लाज हुन खोज्छ पृथ्वीलाई
बोक्न आफ्नो माटो
द्यौराली पुग्छ गोरेटो
क्षितिज टेक्छ आँखा
सागर पुग्छ खोला !

तर साँध छैन भोका अक्षरहरूको यात्रा
प्रत्येक विन्दु अनन्तसम्म तन्किन्छ
एउटी बालिकालाई मैले चिनें
त्यो रूख मन्तिर घाँसको भारीभित्र
हँसिया जस्ती छोपिएकी कुन्युभित्र
एउटा केटोलाई मैले देखेँ
लुकिरहेको बन्दुकहरूको माळ शस्त्रागारमा
सिपाही मैं हांगाहरूले छेलिएर दाउरा चोर्दै

जब गोरेटो आंग तानेर फैलिन्छ
फैलिरहन्छ- भोका अक्षरहरू हरेक खाली पाताहरूमा
जताततै दौडिरहन्छ
जिन्दगीका खाली पन्नाहरूमा ।

३. युग​ㅡपीडा

जथाभावी कोचकाच पारेर
ज्यापूले नोलमा बोकेर ल्याइरहेको
रगतमा लथपथ
राँगोको टाउको, खुट्टा, गिजोलिएको मासु
खस्रो कालो छाला अनुहार
झ​ण्डा बोकेर हिंडिरहेछ
नारा लगाइरहेछ – भीडमा ऱ्यालीमा ।

बसभित्र-बाहिर हात हल्लाउँदै
अस्वाभाविक मुखको गिजा देखाएर ङिच्च
सुस्त- सुस्त केही नभएझैँ हल्लेर
सिनेमाका पोष्टरहरू
नि:शुल्क औषधिको विज्ञापन
तीर्थ यात्रा रेलगाडी या
ॐ सत्य साइबाबाको सन्देश छापेर, बाँडेर
चिठ्ठी पत्रमा, हुलमा
समय विताइरहेछ जनता
मलाई दुःख छ-म यही देशको जनता हुँ ।

४. नेपाल, त्यहाँ कहीँ कतै केही नमिलेकै छ’ भन्छ जोशी

अमेरिकामा बसेर देश बिर्सेको जोशी
बियरको नशाबाट एक्कासि
यथार्थमा हाम्फाल्छ
र बर्बराउँछ-
के मेरो देशको कुरा गरेको ?
मलाई थाहा पनि छैन सम्पूर्ण कुरा
कैयौँ कुरा त बिर्सी पनि सकेँ
तर मलाई लाग्छ
त्यो देश संसारको
सबभन्दा ठूलो पागलखाना हो या चिडियाखाना
कि पुरानो सङ्ग्रहालय
त्यहाँ कहीँ कतै केही नमिलेकै छ-
भन्छ जोशी
म कसैलाई दोष दिन सक्तिनँ।

जनता- ती सीधासादा र गरिब छन्
नेता- ती धूर्त र बेइमान छन् अरू देशका झैँ
व्यवस्था- त्यो पनि चाहेकै पाएका छन्
तर किन केही हुन नसकेको त्यहाँ
तर किन नेपालीले गर्व गरेर
म यो देशको नागरिक हुँ भनेर भन्न नसकेको ?
मलाई नेपाल फर्कने कुरा सम्झ्यो कि
नाडी फत्रक्क गलेर आउँछ
नसाहरू थाक्छन्
र अपरिचित त्रासले म काम्न थाल्छु
मलाई थाहा छैन मलाई किन त्यो हुन्छ –

यही देशमा पनि मैले के पो पाएको छु र ?
कुनचाहिँ उपलब्धि हात पारेको छु र ?
के कति सम्पत्ति या समृद्धि कमाएको छु र ?
तर मलाई देश फर्कन पटक्कै मन छैन ।
त्यो देश जहाँ म जन्मेँ
त्यहाँ कहीँ कतै केही नमिलेकै छ
जुन दिन त्यो खोजी होला
अङ्कल !
तपाईँ र म सँगै देश फर्कौला
भन्छ जोशी ।

५. आस्थाहन्ता समय

कुनै पनि देशको सीमासम्म
मान्छेलाई बाँधिराख्ने कुनै पनि घृणित आस्थाको
बाघे-खोरमा विचारलाई थुनिराख्ने
अब हुन्न यहाँ पाउहरू चाट्दै
प्रभुको सम्मानमा जीवन-आयोजन
अब हुन्न यहाँ अ-पात्रहरूको बीचमा
जीवनको रक्षा-शासन गल्लीㅡ गल्लीबाट
एक हूल अँध्यारो चाल मारेर सरिरहेछ!

हामीले भोगिरहेकोㅡ हामीभित्रै अलग्ग रहेको
अवचेतन टापूमा ㅡ जिन्दगी फेरि
सत्ताको बूढो गिद्ध पंजामा घिस्रिरहेछ
अन्योल ㅡअन्योलमा चुपचाप,

संभवै छैन ㅡस्वीकारको हत्केलामा झुकाउन आफ्नो
सम्पूर्ण चेतनाको जायजेथा,
लगातार कुनै बोट, जीवनको कुनै बोटमा
आस्थाहन्ता समयको कालो कुकुर
मान्छेदेखि मान्छेसम्म सुंघ्दै हिंडिरहेछ ।

हत्केलाहरूलाई थाति राखेर
ओठहरूमा सुसेलिरहेछौं हामी कसैको गीत
मधुर गीत/ गायनㅡ सुन्दर प्रेमका छाल
होमिदिनु छ क्रान्तिको नाममा
डामिदिनु छ यो अनुहार ㅡजीवनको नाममा ।

ㅁ ㅁ