ढुङ्गा माथि फुल्छु
भीरमा / पहरामा
अनि ठूला-ठूला रुखका चेपहरूमा फूल्छु
वनभरि फूल्छु
सेताम्मे हुने गरी फुल्छु / अनेकौँ रङहरूमा फुल्छु
म भिरकी फूल
म पहराकी फूल
म जङ्गलकी सौन्दर्य सुनाखरी !
आफ्नै रागमा सुर ताल मिलाउँदै
पवनको नृत्यमा रम्दै रमाउँदै
पाउजूको झङ्कारसँगै पाउहरू चलाउँदै
हाँगा-हाँगामा चराहरूको शास्त्रीय सङ्गीतको
धुन र शीतल पवनसँगै
लहलहाउँदै रुखमा, पहरामा बयली खेल्छु
मेरा सुकुमोल पत्रदलहरू हरक्षण नृत्यमग्न हुन्छन्
हे यात्री !
तिमी टक्क अडिएर
हेर्छौ, प्रेमिल नयनले निर्निमेष मलाई
अनि म आनन्दित हुन्छु
प्रफुल्लित हुँदै लजाइदिन्छु
अनि,मदहोश हुन्छौ तिमी
चट्टानको माझबाट अङ्कुराउन सफल भएकी छु
म भिरकी फूल सुनाखरी !
म फूलेँ
तिम्रो नयनभरि, तिम्रै मनभरि
तिम्रो मानसपटलमा
फुलेँ म ढकमक्क पूर्णिमाको चाँदनीझैँ
वन, जङ्गल र रुख अनि पहरामाथि
कहिले भिरमा फूलेकी सुनाखरी म
कहिले तिम्रै मनभरि फुल्ने सुनाखरी म
मेरो भिर तिमी/मेरो वन-जङ्गल तिमी
सधैँ तिमीभित्र हुन्छु म
सधैँ तिमीसामु हुन्छु म
ती, अग्ला चट्टानहरूमा
तिम्रो वक्षस्थलजस्तै – ती फराकिला ढुङ्गाहरू
जहाँ म शीर राखेर निदाउने गर्छु
जहाँ म तिम्रो अलिङ्गनमा बाँधिएको कल्पना गर्छु
अनि, ती सुरिला रुखहरूको चेपबाट
जहाँ म तिमी भएको अनुभूत गर्छु र,
निर्धक्क फूल्ने गर्छु
म फूलेपछि
मेरा सुवाषित अत्तरले तिमी मनमुग्ध हुन्छौ
मेरो रङहरूले तिमी आफैँ सुन्दर हुन्छौ
त्यसैले त म तिमीभित्रै फूल्न चाहन्छु
तिमीभित्रै हराउन चाहान्छु
म भिरकी फूल – सुनाखरी !
म फुल्दै छु तिम्रो नयनमा
म तिम्रा प्रेमिल पलहरूसँग रमाउने
हरेक पल शीतल पवनसँगै मस्किने
हिउँको चिसो सिरेटो र बिहानीको किरणसँगै रमाउने
लुकामारी खेल्दै तिम्रो आगमनलाई पर्खने
कहाँ म ताजमहलको कल्पना गर्न सक्छु ?
म त शाश्वत प्रेमको अनुपम प्रतीक्षा गरिरहेकी छु
म भिरकी फूल, सुनाखरी !
म पत्थरमा फूलेकी, सुनाखरी !
– दोलखा
हालः काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।