विज्ञानी सोचहरूले निर्माण गरेका
अनगिन्ती संहारक क्षेप्यास्त्रले छेड़िएर
दुखिरहन्छ
आकाशको अदृश्य छाती !
अहङ्कारी युद्धले छादेको धुवाँले पिरोलिएर
बिझाइरहन्छ
आकाशको अदृश्य आँखा !
मान्छेलाई मात्र कहाँ दुख्छ र !
अचेल
आकाशलाई पनि दुख्छ बेस्सरी
र
बादलको गहभरि थुप्रिएका आँसुहरू
एक्कासि खसाल्छ
सहन नसकेर आकाशले पनि
र
मान्छेको दुखाइ मात्र होइन
मान्छेको गावै बगाइदिन्छ
मान्छेले जानी जानी पाप गरेर
थुपारेको घावै बगाइदिन्छ
र
बेस्मारी तिर्खाएको
पृथ्वीलाई सञ्चो पारिदिन्छ
बेस्सरी रोएर आकाशले
मान्छेले दुखाइमा आफ्नो घाउ मात्र छामिबस्छ
उसको तीखो सोचले खनिदिएको
पृथ्वीको घाउ देख्दैन
मान्छेले आफ्नो सुविधा मात्र खोजिबस्छ
उसको सुविधाले दुखाइदिएको
पृथ्वीको छाती देख्दैन
र
पृथ्वीको भतभत पोलाइ देखेर
असह्य पीड़ाले
पृथ्वी हपहप भएको देखेर
आकाश एक्कासि रोइदिन्छ
आफू पनि भक्कु दुखेर ।
०००
डाउहिल, खरसाङ, भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला