रहर

—हरिभक्त कटुवाल

हरिभक्त कटुवाल

बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरुको ।
खिया लागेका कलका पुर्जाहरु जस्तै
गणितका सूत्रहरु पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहास पानाहरुमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरुमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले बा पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरुको
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटोमा हिंड्नभन्दा
बाटो बनाउँदै हिंड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरुको
बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरुको ।

(भारतको असममा बसेर नेपाली भाषामा कविता लेख्ने कवि कटुवाल नेपाल र नेपालीलाई असाध्यै माया गर्नु हुन्थ्यो भने उहाँलाई पनि नेपाली जनताले सर्वाधिक रुचाएका छन् । बेजोड संप्रेषण क्षमताका सशक्त कवि कटुवाल पनि कवितामा आŠनो छुट्टै र बेग्लै परिचय राख्नु हुन्छ । उहाँका कविताले विद्रोह मात्र बोलेका छैनन्, आँसु पनि झारेका छन्)