कवितामा गम्भीर अनि व्यवहारका सरल कवि हुन् – वियोगी बुढाथोकी । उनका कविताहरू – परिवर्तनको पुञ्ज बोकेर ल्याउँछन् । मानिसको दु:ख-सुख / अभाव-पीडा / प्राप्ति-अप्राप्ति / उज्यालो-अँध्यारोका दसी हुन् – बुढाथोकीय कविता ।
कहिले विद्रोह बोकेर आउँछन् । कहिले प्रमिथसको आगो बोकेर ल्याउँछन् । उनका कविता विचारले जति धारिला छन् त्यतिकै शालीन र नरम पनि छन् । हरेक अध्यारोका विरुद्ध विद्रोहको आँधी बनेर हुन्हुनाउँछन् उनी ।
न्याय र समानताको पक्षमा उभिन्छन् । उज्यालोको पथमा हुन्छन् / प्रेमको अप्रतिम लयमा हुन्छन् / जीवनको गति उधिन्छन् / आशा र अपेक्षाको धुन सुसाउँछ्न् / दर्शनको फराकिलो आयाममा हुन्छन् ।
‘वसुधैव कुटुम्बकम्’को हारमा हिमशैलझैँ उभिन्छ्न्- उनका कविताहरू ।
तीसको दशकका एक बलशाली कवि हुन् उनी । कवितामा उनको आफ्नै नूतन शैली र लय छ / पृथक् धुन छ / काव्यात्मक आरोह-अवरोह छ अनि गहिरो सुस्केरा छ । उनी कवितामा आरोप- प्रत्यारोप र प्रत्याक्षेप गर्दैनन् । ओकल्दैनन् – रिस, राग, द्वैष र क्रोधको उगाल ! न भँडास नै हुन्छन् उनका कवितामा । हुन्छ त केवल कालजयी चेतना ।
युवा सर्जकहरूको रानो हुन् वियोगी । विचारका पुञ्ज हुन् । काव्यिक सौन्दर्यका स्निग्ध धवल हुन् अनि मन-मुटुका सफा कवि हुन् । उनी जे गर्छन् – त्यो भन्छन् । जे भन्छन् – त्यो गर्छन् । मनमा कुनै आत्मश्लाघा छैन / आडम्बर र आक्रोश छैन / मस्तिष्कमा ईष्र्याभाव र डाह छैन / जीवनमा लोभ र पाप छैन / मित्रतामा होचो-अर्घेलो छैन / अनुज र अग्रज छैन । यसर्थ उनी सबैका प्रिय र आत्मीय छन् ।
वियोगी बुढाथोकी नेपाली गद्य कविताका यशस्वी नाम हुन् । लामो साधनाले खारिएका र लोकतान्त्रिक चरित्रका बोकेका साहित्यका अमूल्य निधि हुन् । वि.सं. २०११ साल जेठ ६ गते काठमाडौंको हात्तीगौंडामा माता विष्णुकुमारी बुढाथोकी र पिता कृष्णबहादुर बुढाथोकीको कोखमस उनको जन्म भएको थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर बुढाथोकी त्रि.वि.को प्रशासन क्षेत्रमा लामो समय काम गरेर निवृत्त व्यक्तित्व हुन् ।
प्रस्तुत छ – वि.सं. २०४४ कात्तिक अङ्कको गरिमा पत्रिकामा प्रकाशित ‘खै मलाई कहाँ दुखेको छ ?’ शीर्षकको कालजयी कविता ।
खै मलाई कहाँ दुखेको छ ?
-वियोगी बुढाथोकी
छातीमा असंख्य सत्तलहरूको निर्माण गर्दै
बाँच्नुको यथार्थमा
कतै दुखेका घाउहरूमा सहमति बोल्दै
कतै पीडाका चोटहरूमा सम्मति जनाउँदै
र, कतै युद्धपोतमा शान्तिको अभिषेक छर्ने रहर गर्दै
म समर्पणमा बाँडिन लागिरहेछु
मात्रै दु:ख, व्याथा र चोटहरूमा
खै मलाई कहाँ दुखेको छ ?
प्राप्तिको उज्यालो घाम ताप्ने रहरहरू
खोल्साको संकीर्णतामा हराउनु हुन्न
यात्रा अनन्त लामो छ
कतै सम्मानका फूलहरू सजाउँदै
कतै स्नेहको भाषाले सौगात चढाउँदै
कतै ढल्दै गरेका बैँसहरूमा
हृदयको प्रत्येक कोणबाट स्वागतका ढोकाहरू खोल्दै
आफूलाई निर्वासित ठान्ने मनहरूलाई
आफ्नै मनको आँगनमा सजाएर
म मेरो मुटुलाई सिंडीहरूमा खात लगाउँछु
आउ चढ
आउ उक्ल
लामो यात्रामा लागेका बेला
हो, तिमीलाई अभिव्यक्तिको तिर्खा लागेको होला
हो, तिमीलाई खडेरीको तातोले डामेको होला
प्रशस्त नदी-नाला र खहरे भएर पनि तिर्खा मेट्न नपाउनु
यौटा विडम्वना तिमी भोगिरहेको
त्यसमा मेरो पनि सहभागिता होला
तर तिर्खाभन्दा पनि अलिक पर
दुखेको घाउहरू छन्
पीडाका चोटहरू छन्
म कर्तव्यमा दु:ख, व्यथा र चोटहरूमा पग्लिरहेछु
खै मलाई कहाँ दुखेको छ ?
– गरिमा, २०४४ कात्तिक
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।