सुखी जीवन जिउने
रहरहरूको चाङमा टेकी
बिचौलियाहरूको चङ्गुलमा फस्दै
कोही स्वयं बेचिन तयार छन्
त, कोही पुग्नु छ
अन्जान सपनाको शहरमा
घनघोर जंगलको बाटो टेक्दै
बिरानो शहरको यात्रा तय गर्दा
भोग्नु पर्ने नारकीय अवस्थाको
कुनै पर्वाह छैन
मात्र पुग्नु छ गन्तव्यमा

देशमै बाँच्ने अनगिन्ती उपायहरूको
खोजी गर्ने जमर्कोलाई त्यागी
सात समुद्र पारिको मुलुकमा
सपनाको बिउ छर्न तयार छन्
भविष्यका कर्णाधारहरू

सभ्यताको विकास सँगसँगै
मानिसहरू सहजै रुपमा बेचिन्थे
कोही बँधुवा भएर
त कोही यौन दासी
विज्ञान र प्रविधिको युगसँगै
यसका स्वरुपहरू परिवर्तन हुँदैछन्
बिचौलियाको फन्दामा बेरिँदा
शरीर बेच्न बाध्य छन्
कोही घरेलु कामदार
कोही अफ्रिकी मुलुकको डान्सबारमा
नृत्याङ्गना भएर
फेरि रहेछन् जीवनका काँचुली
बनिरहेका छन् आधुनिक दास

कसैका सपनाका खेतीहरू त सप्रे होलान्
तर धेरैको भाग्यमा तुषारापातको वज्र परेको छ
पारिवारिक विखण्डनको महारोग भित्रिएसँगै
मुलुक फिर्ती हुन नपाउँदै
पसिनाको कमाई रित्तिएको छ
कसैलाई स्वदेश फिर्ती हुँदा
सौता उपहार मिलेको छ त
कसै कसैलाई जार

विश्वसनीयता र आधिकारिक निकायलाई बेवास्ता गरी
नानाथरिका विचौलियाहरूको पाउ पर्दै जन्मभूमि छोडेको छ
बिरानो मुलुकमा कष्टकर जीवनका
समाचारहरू छताछुल्ल हुँदा पनि
सामाजिक सञ्जालहरूमा
दुखद् भिडियोहरू भाइरल हुँदा पनि
अझै आफूलाई दाउमा राखी
बिचौलियाको भुँडी भर्न
किन लालायित छन् मानिसहरू ?
आफन्त र शुभचिन्तकहरूको सुझावलाई
किन बेवास्ता गर्छन् अजंगका घमण्डीहरू

होशियार ! युवाहरू हो,
हचुवामा बिचौलियाहरूको पछि नलाग
नदेख सपना ठूला
जुन सपना विपनामा परिणत हुन सक्दैन
सपना त्यो देख जसले
समाज रूपान्तरण गरोस्
अन्धविश्वास, विकृति र विसङ्गतिलाई चिर्न सकोस्
आफू स्वयंलाई आधुनिक दास बन्नबाट मुक्त गर्न सकोस् ।