मेरो छातीमाथी बुट बजारी
टाउको र कम्मरमा गोली नहानेको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

मेरो टाउको र छातीबाट निस्केको रगतले
तिमीले होली नखेल्दिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथे

मेरी आमाको अस्तित्वलाई तिमीले आफ्नै आमाको
अस्तित्वसरह मानिदिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

मेरो पुर्खाको गौरवमय इतिहासलाई
तिमीले नकुल्ची दिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

मेरो भाषा र संस्कृतिमाथि आक्रमण गरी
भाषिक र साँस्कृतिक दासता नलादिदिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

मेरो अस्तित्व र पहिचानको लडाईँलाई
तिमीले नगिज्याइदिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

मेरो दुर्गानन्द, रामराजा, रामनारायण, रमेश महतो र
निकु यादवलाई तिमिले आफ्नै ठान्दिएको भए
आज म पनि तिमीसँगै एकताको गीत गाउँथेँ

मेरो भाषिक लवज र साँस्कृतिक पोशाकलाई
तिमीले नगिज्याइदिएको भए, न जिस्काइदिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

मेरो अस्तित्वको लडाईँलाई
तिमीले विहारीकरण र विदेशी दलालसँग नजोडिदिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

मेरो घरभित्र घुसेर मेरी आमा, दिदी, बहिनीको अस्मितामाथि
तिमीले निरंकुश प्रहरीद्वारा प्रहार नगराएको भए
आज म पनि तिमीसँगै मैनबत्ती बालेर संविधान दिवस मनाउँथेँ

मेरो घर शोकाकुल भएको बेला
तिमीले दीपावली नमनाइदिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ

यत्तिका बावजुद पनि तिमी मेरो
अस्तित्व, पहिचान र इतिहासलाई स्वीकारिदिएको भए
आज म पनि तिमीसँगै संविधान दिवस मनाउँथेँ ।

जनकपुरधाम