दीपक चौलागाईम एकान्त मन पराउँछु
मौनतामा रमाउँछु
ऊ कोलाहलमा खुसी हुन्छ
ऊ मेरो मौनताको दुस्मन
उसलाई सम्झँदा मात्र पनि
मेरो आरामको निद्रा हराउँछ

बातैपिच्छे ऊ
बबाल गर्न तम्सन्छ
मरघटमा होस् वा चोकमा
जमघटमा होस् वा शोकमा
मलाई शान्तिसँग बस्नै दिँदैन
निहुँ नपाए बहाना खोज्छ
चाहना नभए पनि बाध्य बनाउँछ
अरूले हाँ मा हाँ मिलाइरहँदा
ऊ मेरो अभिमानको उछित्तो काढ्छ
अज्ञानताको धज्जी उडाउँछ
मेरो अन्तसमा बसेर
मैभित्र आँधी सृजना गर्छ
मेरो निद्रा खोस्छ, चैन खोस्छ
मानौँ, म बोधो पेन्सिल
ऊ सार्पनर
मलाई निर्ममतापूर्वक तिखार्न खोज्छ
निखार्न खोज्छ
ऊ मेरो मौनताको दुश्मन
उसलाई सम्झदा मात्र पनि
मेरो आरामको निद्रा हराउँछ

ऊ कठोर छ तर कुशाग्र छ
धूर्त छ तर तीक्ष्ण छ
मानौँ ऊ शिक्षक
म शिष्य
ऊ सरल पाठ पढाउँछ
अप्ठ्यारो गृहकार्य दिन्छ
र कठोर परीक्षा लिन्छ
उसकै लागि मात्र भए पनि
मैले
निरन्तर नवीकृत भइरहनु पर्छ
टुप्पी कसेर पढिदिनु पर्छ
उसकै कारण
मेरो अध्ययनको क्षेत्र फैलिएको छ
चिन्तनको सिमाना विस्तार भएको छ
ऊ मेरो मौनताको दुश्मन
उसलाई सम्झदा मात्र पनि
मेरो आरामको निद्रा हराउँछ

उसको र मेरो एकत्व
अस्तित्वको लागि हो
संघर्ष
विकासको लागि हो
निकासको लागि हो
ऊ आलोचना गर्छ उपेक्षा गर्दैन
विरोध गर्छ बेवास्ता गर्दैन

उसको उपस्थितिले मात्र पनि
चुम्बकीय क्षेत्रका लौह कणहरूझैँ
मेरा अंग–प्रत्यंग जुर्मुराउन थाल्छन्
चलायमान हुन्छन्
ऊ छ र त जीवनमा हलचल छ
ऊ मेरो आलस्यको दुश्मन
उसलाई सम्झँदा मात्र पनि
म छु भन्ने बोध मौलाएर उठ्छ

वर्षौँसम्म
एक कल सम्झना नगर्ने मित्रहरू भन्दा
ऊ मेरो धेरै नजिक छ ।