विष्णु पादुका

आऊ,
अश्रुदान गरौं
आँसु महोत्सव मनाऔं
बिमा बिनाको मिचिएको सीमामा
चिसा आँसु चुहाऊँ जमाऊँ आँसुको ठिही ।

खित्का
छोडेर उसले
काँचका पर्दाभित्र
ओकेलिरहेछ राष्ट्रियता
आमासँग सम्बन्ध बिच्छेद गरेर
शरणार्थीको राहदानी च्यापेपछि
बन्द भएको तगारो खोल्न भएको अबेर
जिन्दगीको जुवामा बैँस हारेर आएपछि
मलाई थाहा छ साथी
तिमीसँग पर्याप्त भण्डार छ आँशुको
आऊ
अश्रुदान गरौं
आँसु महोत्सव मनाऔँ ।

अवसरको विरासतमाथि उभिएर
कुर्लनेको पछि लागेर कुनै न कुनै अङ्ग दिऔँ
जहिल्यै तिम्रो आसन तल नै देखेथेँ मैले
उर्वर उमेरको सट्टाबाजीमा हातमा
पाएको हरूवा उमेदवारको टिकट छ
अनावश्यक सिद्ध भएको
आक्रोश मिसिएको कुण्ठालाई
आऊ, पखाल र स्वतन्त्रताको श्वेत अबीर लाऊ ।
आऊ
अश्रुदान गरौं
आँसु महोत्सव मनाऔँ ।

रहरले
शहर भित्रिएपछि
आवश्यकताको बाढी थामी नसक्नु भयो
नैतिकता त गाउँमा भुलेरै गएका थियौ
उन्नति हुनु स्वाभाविक हो
छिटो हिँड्नेको बाटो छोटो हुन्छ
गाउँको कटेरो भन्दा सुनसान कोठामा
अत्यास लागेपछि पुगेका आनन्दी आश्रम
यता मोडिदेऊ एकछिन
र, भुलिदेऊ ती उज्यालोमा देखेका सपना ।

आऊ
अश्रुदान गरौं
आँसु महोत्सव मनाऔँ
यहाँ
तिमी र म मात्रै छैनौं महोदय
रुन नपुगेका, रुन नसकेका
अनेकौं घाउहरु छन्
छोरो
घरबारी लिलाममा छोडेर
विमानमा सवार भएपछि
बोलीसम्म सुन्न नपाएका बा
अनुहारसम्म हेर्न नपाएकी आमा
आफ्नै आँगन बिरानो बनाएर
लखेटिएका दाजुभाइ
जन्मेको घर माइती र लोग्नेको घर पराइ
भएपछि भरपर्दो आकाश र
पाइला नभासिने जमिन खोज्दै
सिन्दुरको परिभाषा भुल्न पनि
आएका चेलीबेटी छन् ।

न्यायको खोजीमा भौतारिँदै
जित्ने हैसियतमा नपुगेका पीडित छन्
र छन्
तुहिएका सपनाले थिचिएकाहरु
लगनगाँठो फुस्किएकाहरु
माया लाउन जानेका
माया पाउन नजानेकाहरु
बिमार विचारले थलिएकाहरु
जिम्मेवारीको जिम्मा दिएर आएकाहरु
बालुवा चपाएर
टुक्रा भएका सुनका जिन्दगीहरु
फेहरिस्त लामो छ
महाशय !
आउनुहोस्
प्रफुल्ल भएर रोऊँ
ताकि हाम्रो आँसु देखेर
कसैले अट्टहास नहाँसोस्
आऊ
अश्रुदान गरौं
आँसु महोत्सव मनाऔं ।

कोहलपुर -४, बाँके