शिवराज योगी

कविता
वा ! क्या सुन्दर शब्दावली…
कविता,
म तिम्रो कविताको
पहिलो पंक्तिमा उभिएर
बग्दै बग्दै र ओर्लिँदै
हरेक पंक्तिसँग
अडिएर कविताको मध्यस्थलमा
डुब्न मन छ मलाई
कविताको सुकोमल भावमा
मिसिन मन छ कविताको सुगन्धमा

म स्पर्श गर्न चाहन्छु
कविताको हृदय
र सुमसुम्याउन रहर छ
भाव सागरजस्तो
कविताको त्यो विशाल छाती
कवितासँगको सलील यात्रा
नरोकियोस् त्यहीँनेर ।
किनकि, भावको भवसागरबाट
मन्थन गरेर
बग्ने कविता
बग्छ निरन्तर
र, मलाई पनि कवितासँगै
हेलिँदै, तैरिँदै र डुब्दै
बग्न मन छ
एक निमेष निरन्तर,

र कविता..
कविता अन्त्य हुनुअघि
भावहरुको संवेग र उद्वेगको
त्यो जंघारमा
डुबुल्की मारेर
जहाँ एक निमेष सुस्ताउँदै
फेरि कविताको अन्तिम हरफ
वा पैतलासम्म
अर्थात् अन्तिम अनुच्छेदमा पुगेर
विश्राम लिन मन छ
कविताको शब्दान्त झैँ !!!