एक्लै हुनु भनेको
सिँगानका फोथ्रा आउन्जेल
रुनु रहेछ
पेट मिचिमिची धित मरुन्जेल
हाँस्नु रहेछ

बिग्रन लागेको बेला आफैँलाई
नानाथरी भनी गुनगुनाउनु रहेछ
सोचेजस्तो गरे जिन्दगीले
मन फुरुङ्ग पार्दै आफैँलाई सुम्सुम्याउनु रहेछ

समुद्री लहरासँगै आफैँलाई डुबाउनु
माझीले डुङ्गालाई जसरी जिन्दगीलाई उतार्नु रहेछ
शिशिरमा नाङ्गिएको रुखलाई
वसन्तले जसरी हरियाली बनाउनु रहेछ

आँखालाई सूर्य बनाउनु रहेछ
मनलाई उज्यालो जून बनाउनु रहेछ

एक्लै ध्रुव तारा हेर्दै मुस्कुराउनु
हावाको झोकासँगै आफैँलाई कतै बहाउनु रहेछ

अँध्यारो रातलाई अँगालेर
आफ्नै धड्कनको चाललाई
कसेर निदाउनु
मिर्मिरेसँगै मृत शरीरलाई बिँउझाउनु रहेछ

आकाशलाई पढ्नु रहेछ
धर्तीलाई सिँचनु रहेछ

साँच्चिकै एक्लै हुनु भनेको
समयभन्दा बलवान हुनु रहेछ
समयलाई कठपुतली बनाएर
आफूले शिव ताण्डव हेर्नु रहेछ

एक्लै हुनु भनेको एकल हुनु रहेनछ
जिन्दगीलाई आफू बनाउनु रहेछ ।
०००
स्याङ्जा ।