एअरपोर्ट बन्द छ
बसपार्क बन्द छ
सिंहदरबार खुल्ला छ
त्यसैले देश बन्द छ।

बन्दको कर्म नै बन्द हुनु हो
नत्र बन्द, बन्द नै हुने थिएन
बन्दमा बन्द नै हुने थिएन
बन्दभित्र निर्विरोध छिर्ने थिए मानवहरु
र बन्द
बन्द जस्तो हुने थिएन।

खुल्लाकै बहुमत
खुल्लाकै सत्ता
बन्द पनि खुल्ला हुन्थ्यो ।
अनि हामी भित्रको बन्द विलीन हुन्थ्यो।
बन्दसFगै मानवीय गन्ध पनि विलीन हुन्थ्यो ।

देशमा एअरपोर्ट बन्द छ
बसपार्क बन्द छ
सिंहदरबार खुल्ला छ
त्यसैले हामी बीचको बन्द हामीसँगै छ
बन्द देश भित्रको बन्दमा
हाम्रो मानवता
सपना र कलिला भविष्यको मजबुत पर्खाल छ ।
बन्द खोलिदा त्यो पर्खाल
भत्किन पनि सक्छ, नभत्किन पनि सक्छ ।
त्यसैले गणतन्त्र जन्मिएदेखि
बन्द देशबाहिर बसेर
शासकहरु
बन्द देश भित्रका जनतालाई बन्द नखोल्न
आदेश दिइरहेका छन् ।
तर बन्दभित्र
सपनाको
भविष्यको र
मानवताको पर्खालको
साना प्वालहरु पनि बन्द भए कि?
बन्दभित्र जे पनि भएको हुनसक्छ
बुद्धले बन्दुक रिलोड गर्न थाले कि?
वा कृष्ण सोमरसमा रम्न थाले कि?
बन्दलाई बन्द गराउन,
इतिहासलाई बन्द गराउन
बन्दकर्ताहरु संक्रमित खोजिरहेका छन्।
अब बन्द
खुल्ला पनि हुनसक्छ, नहुन पनि सक्छ
तर
बन्द खुल्ने बिहान पर्खेर बस्नु भनेको
बन्दभित्र बन्द हुनेहरूको चेतना बन्द हुनु हो ।

मृत्यु पछिको भीमकाय भयले
मृत्यु पनि बन्दभित्र बन्द भएको छ
र संक्रमित मानवता
मृत्युको अभावमा छट्पटाइरहेछ ।