काटिएर ताछिएर
जङ्गलको अग्राखबाट छाँटिएर
मान्छेको पिठ्यूँ र काँध चढ्दै
आँगन, मझेरी र दलान हुँदै
घरभित्र पसेको
कुनाकाप्चामा एकल अलपत्र बसेको
कमाउ धन्दाको लोभ लालचमा फँसेको
कतै लडाइएको, कतै ठड्याइएको
छिप्पिएर सुकेको केवल बुटो हो अचानो
मात्रै गिंडुल्किएर टुक्रिएको फगत लिडुल्को हो
खुर्पा, खुकुरी, कटारीले ठुङ्ठुङ्याइएको
हतियारका असंख्य डाम थुप्रिएको
पीडा नै पीडाको बिटो हो अचानो
सहिरहन्छ सहेर नै अस्तित्व रहिरहन्छ
घाउ नै घाउका चोट र खत भइरहँदा पनि
ऐय्यासम्म नभनी सहिरहन्छ
जतिसुकै ताप, राप र पश्चात्तापमा पनि
जति नै दुर्गन्ध, प्रहार र दुखाइ खपाइमा पनि
जिन्दगी भत्रु कठोरतम् रहेछ–एक परिचय
आलोपालो रहेछ कहिले विजयको कहिले पराजयको
जति टुक्टुक्याए पनि
जति भुक्भुक्याए पनि
एकोहोरो खपिरहन्छ ऊ
दुखेर पनि नदुखेझैँ गरिरहन्छ ऊ
जतिसुकै यातना भोगाए पनि नियतिले
टुलुटुलु हेरिरहेको हुन्छ
सहनुको पर्याय भै बाँचिरहेको हुन्छ
दिलाइरहन्छ अरूमा सुखानुभूति
चोट र हन्डर खाइरहन्छ अनगिन्ती
निर्जीव मात्र होइन सहाराविहीन छ ऊ
उत्तानोचित बनाएर दुखिरहेको हुन्छ ऊ
दुष्ट हुँदै होइन तर किन दुखाइन्छ उसलाई
चुक्दैन ऊ तर किन छिनाझपटी खपाइन्छ उसलाई
डग्मगाउँदैन खप्न खपाउन अभ्यस्त छ
कसैद्वारा न टोक्न न चिथोर्न सकिने चानो हो ऊ ?
अरूलाई सन्तुष्टि दिन थापिएको
फगत एक अचानो हो ऊ अधरानो हो
कुनै कुनामा लुकेर
कसैको वज्रपात ढुकेर
थाप्लो थापिरहन्छ
बगरे जस्ताको पाषाण हृदयको सास्ती
दिनहुँ नापिरहन्छ
चुलिएर हुँदै होइन
प्रहारहरूमा बिटुलिएर
जीवन धरापमा थापिरहन्छ ऊ ।
०००
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।