छन्द : सवाई (लोकलय)

झोला बोकी स्कुल जान्छौँ पढ्न-लेख्नलाई
स्कुल पुगी पढ्न थाल्छौँ सबै साथीभाइ

आमा जस्तै गुरुमा छिन् बाबा जस्तै गुरु
माया गरी पढाउँछन्, पढ्छौँ खुरु खुरु

कति राम्रो स्कुल हाम्रो कति राम्रा साथी
मिलीजुली पढ्दै लेख्दै पुग्छौँ माथि माथि

पढ्नु नै हो हाम्रो काम पढ्न पाउनुपर्छ
शिक्षाले नै यो धर्तीमा ज्ञानको ज्योति छर्छ

ज्ञानविना केही हुन्न, ज्ञान नै हो साथी
बटुलेर यस्तै ज्ञान पुग्न सक्छौँ माथि

त्यसैले त हातेमालो गरी पढ्न थाल्छौँ
पढीगुनी अज्ञानको मैलो सबै फाल्छौँ

जति जति पढ्दै जान्छौँ उति ज्ञानी हुन्छौँ
उन्नति र प्रगतिले चन्द्रमालाई छुन्छौँ

ल है साथी स्कुल जाऔँ पढ्न-लेख्नलाई
स्कुल गई पढ्न थालौँ ज्ञानी बन्नलाई ।