आकाश पारिको क्षितिजतिर
देशभित्रकै प्रदेशतिर
पराइ नलाग्ने तराईतिर
जाँदै गर्दा बसाइँ सर्दा
मसँगै छुटेको तस्वीर
म छुटेझैँ छुटेछ

दैलोमाथि झुण्डिएको
त्यो तस्वीर
तस्वीरको तलपट्टि झुण्डिएर
खुबै हेर्ने गर्थें
एकोहोरो घोरिएर
घोत्लिएर

घरि भित्र पस्दा घरि बाहिर बस्दा
नयनका पर्दा उघारेर
धमनीका पर्दा उधारेर
धड्कन बढाउँदै
अँगालो लगाउँथेँ
दिलभित्र सजाउँथेँ

तस्वीरसँगै झुन्डिएर
आफ्नै बाको तस्वीर
सिसाको फ्रेमभित्र कुँदिएको देखेर
राखेको थिएँ
कलेजोकै छेउछाउमा लेखेर
सेतो माथि कालो सतह बनेर

दूरदराजको बस्तीबाट
हप्तौं हप्ता यात्रा गर्दै
रहरैले राजधानी पुगेर
मेरा बा र उनकी आमा
कसरी अटेहुनन् अरु दुई जना
मभन्दा जेठो तस्वीरभित्र

बाकै झल्को मेट्ने गरी खुबै
बा छउञ्जेल
बा बितेपछि पनि
नियालिरहेँ
मनको क्यामेराले खिचिनैरहेँ
बाले छोडेर हिँडे पनि
तस्वीरले कहिल्यै छोडेन

उनी बितेको वर्षौंपछि
उनकै गोरेटो पछ्याउँदै
सपनाको भारी बोकेर
दिलभित्र किला ठोकेर
हिँडेको थिएँ
त्यही तस्वीर हातमा लिएर
साथमा लिएर

हात हातमा आजजस्तै
तस्वीर हेर्दै तस्वीर खिच्ने
केही त्यस्तो भएको भए
हजारौं तस्वीर जन्मिने थिए
क्षण क्षणमा
युगौँयुग रहने गरी

वर्षौं बितेको थाहै भएन
कहिले, किन, र कसरी हो खै
तस्वीर फेरि साथमै रहेन
जे हुनु थियो, भै नै हाल्यो होला
परिस्थितिले कतै लगेर फाल्यो होला
बाजस्तै सम्झनामा पुगेको तस्वीर
अहिले केवल सम्झनामा मात्र बचेको छ

सम्झिएर चित्र कोर्न सक्ने भए
आफैँ
सम्झाएर हुने भए चित्रकार
भेटेको जो कोही
तस्वीर
बन्दो होला कि उही
जो अल्झिरहेछ बारम्बार
बल्झिरहेछ
केवल सम्झना बिर्सनाकै दोबाटोमा

फर्किरहन्छु त्यही दैलोको छेउमा
हेरिरहन्छु टोलाएर
कल्पनाको मीठो सागर पौडिएर
पुगिहाल्छु फेरि
सपनीमै भए पनि
उतै कतै दौडिएर

भेटिहाल्छु आफैँलाई कहीँ
एक अबोला बालकजस्तै
जो पर्खिबसेको छ
एक सपना रोकेर
परेलीभित्रै
बग्न प्रतीक्षारत
अश्रुभित्र कतै
हमेशा उही तस्वीरको भारी बोकेर
नशाभित्र बग्ने रगत
एक क्षण कतै रोकेर ।