यो कविता बालदिवसको अवसरमा स्वयम्भू सामुदायिक अध्ययन केन्द्रद्वारा आयोजित अन्तर विद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता २०८१ मा प्रथम स्थान हासिल गर्न सफल कक्षा ७ मा अध्ययनरत विद्यार्थी अग्रता अधिकारीद्वारा रचित कविता हो ।
शक्ति र साहसको मूर्तरूप म,
आँधीहुरीकै बीचमा पनि सधैँ अडिग
कठिनाइहरूले घेरे पनि, बाध्यताहरूले बेरे पनि,
आफ्नै खुट्टामा उभिएर हिँड्न सक्ने
मेरो कल्पनाकी, एउटी साहसी छोरी म
हिमालको त्यो उँचो शिखरजस्तै,
कहिल्यै नझुक्ने स्वाभिमानी म,
देखाउँदा पनि कसैले निराशाका पहाडहरू
नरोकिने मेरा पाइलाहरू
मेट्न खोज्दा पनि कसैले मेरो अस्तित्व
छाप् बनेर रहने सुकर्महरू
कतै गीत अनि कतै प्रीत बनेर,
चम्काउन सफल चन्द्र अनि सूर्यझैँ
मेरै कल्पनाकी सफल समाजसेवी म
कहिल्यै ननिभ्ने उज्यालो बत्ती अनि
हर कठिनाइको सामना गर्ने जुझारू म
घोच्ने काँडाहरूबिचको एउटा सुन्दर फूल
जसबाट निभ्न सक्छ घृणाको आगो
हुनु छ कल्पनाभित्रको मिठो सपना
अनि योजना कोर्न सक्ने चर्चित चित्रकार
मेरो कल्पनाकी सक्षम योजनाकार म
उभिएर आफ्नै खुट्टामाथि
थिचेर आफ्नै पाइतालालाई
यत्रो पृथ्वीलाई नै मलिलो पार्न सक्ने
यो सिङ्गो आकाशलाई नै थाम्न सक्ने
साहसी गुरुमाबाट खरो उत्रिएकी
मेरै कल्पनाकी सफल विद्यार्थी म
नागरिकहरूमाथिको अन्यायलाई
निमोठ्ने बलिया हात भएकी
नागरिकलाई चुस्ने भ्रष्टहरूलाई
ठेगान लाउने खुबी भएकी
विदेशीसामु झुकेर स्वार्थ पूरा गर्नेलाई
कानुनका हातले समाउन सक्ने
अवसर पाएर पनि केही नगर्नेहरूलाई
सधैँका लागि हराउन सक्ने
मेरै कल्पनाकी असल नेतृ म
बन्नु छ असल बटुवा र चालक सडकमा
हुनु छ असल शिष्य र शिक्षक स्कुलमा
फहराउनु छ झन्डा सफलताको शिखरमा
कहिले छोरी, बुहारी अनि आमा बनेर पनि
स्वाभिमानी बनेर जिउन सक्ने
मेरो कल्पनाकी एउटी सफल नेपाली म
मेरो कल्पनाकी एउटी सफल नेपाली म ।
कक्षा ७ क, स्वर्णिम स्कूल
डल्लुआवास, काठमाडौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।