प्रिय,
तिमीले फैसला गरेझैँ,
संसार त्यति अप्रिय छैन !

शंकाहरूको विशाल पर्खाल बाहिर-
फुकालेर हेर पूर्वाग्रहका गाढा चस्मा
फैलाएर दुवै हात पाखुरी
अँगालो फिँजाउ उज्यालोमा –
पखालेर कुण्ठाका कुष्टरोग सतविचारले
एकपटक महसूस गर आफ्नै हृदयको चाल,
धडकनको भाषा र संवेदनाको छाल

एकपटक
महसुस गर तिम्रो हृदयको पत्थरबाट पलाएको हरियो क्रान्ति
तिम्रा आँखाहरूबाट उँधो बगेका नीला झरनाहरूको लय
नशामा बगेका रक्तिम नदीहरूको झंकार
मुटुभित्रको पहेँलो ताप
खोपडीभित्रको न्यानो राप
अन्तस्करणको उज्यालो
सिंगो शरीरको प्रकृति

अनि हेर आफू अगाडिका आकृतिहरुलाई
सुर – असुरहरूलाई
अँध्यारो – उज्यालोलाई
सिंगो संसारलाई
हेर प्रकृतिलाई

छाडिदेऊ धोका र बैगुनको कुरा
खुनको कुरा
खुनको बदला खुनको कुरा
छाडिदेऊ लाशहरूको बिस्कुनको कुरा

झण्डाको कफन बाँधेका छौ तालुमा
सिमानाको साङ्ग्लो बाँधेका छौ पाउमा
बोकेका छौँ काँधमा अतितका ऐँठन-
फुकालीदेऊ फालिदेऊ यी बन्धन

मान्छेहरूको जिजीविषाले बनेको पसिनाको पोखरी हेर
मानवताको खुड्किला चढेर यहाँसम्म आएका इतिहास हेर
हेर प्रगतिको हुटहुटीले जन्माएका आश्चर्य
हेर मान्छेको जुनून- परिवर्तनको पूर्वाभाष हेर !

जुन संसारमा तिमी देखिरहेका छौ धोका, षड्यन्त्र र कपटको युग-
यहाँ अझै मरेको छैन मान्छेहरूको विश्वासको दियो
करुणाको आत्मा र हृदयको कमल !

अझै ढलेको छैन मान्छेहरूको हिमालजस्तो हिम्मत
अझै सुकेको छैन मान्छेहरूको सागरजस्तो संवेदना !

मित्र – तिमीले घोषणा गरेझैँ
यो संसार नालायक भैसकेको छैन ।

खोटाङ