फर्किने बाटैमा अपहरित ताप-तरङ्गहरू
छिपाउँछ ग्रिनहाउस ग्यासमण्डलले
जसरी लुकाउँछ अजिङ्गरले पेटभित्र
अपहरण गरेका मृगको पाठोजस्ता जीवहरू
अजिङ्गरले त जिउ बटार्दाबटार्दै पचाउँछ
र घटाउँछ बेलुनझैँ फुलेको पेटको आयतन
तर
नरोकिँदा ताप-तरङ्गहरूको अपहरणको शिलशिला
घनिभूत हुन्छ ग्यासमण्डलको आयतन
अजीर्ण हुन्छ र गर्छ तापवमन
फैलिन्छन् वमनका छिटाहरू
धराको अङ्गअङ्गमा
वर्षौँदेखि पत्रपत्र परेर जमेका
आफ्नै पिण्डभारले दबिएका
चट्टानरुपी हिमपिण्डहरू
तापतरङ्गको स्पर्श र उत्तेजनामा
आल्हादित हुँदै
द्रवित हुन्छन् शनैःशनैः
घटाउँदै हिउॅको घनत्व र आयतन
फेरिँदैछन् हिमशैलहरू
तिलचामले रूपाकृतिमा
रोकिएनन् भने मान्छेका दुष्कृत्यहरू
र रमाइरहे भने नित्य आत्मवञ्चनामा
अलप हुनेछन् दृष्यपटलबाट श्वेतमालाहरू
अवतार लिनेछन् कालापहाडहरूले
चढ्दैछ परितापको पारो
विचलित छ तेस्रोध्रुव पनि सारो
टुट्दै जाँदा हिमशिलाका बन्धनहरू
बढ्दै जान्छन् हिमकुण्डका आयतन
आफ्नै आयतनको अधिक दबाबले
नाघ्छन् परिवेष्टित सिमानाहरू
भत्काउँछन् स्वनिर्मित थातथलो
कस्तो अचम्म !
अरूको उत्तेजनामा बहकिएर
शक्तिको तुजुक देखाउँदै
विष्फोटक हुनुपर्ने गोलाबारुदसरी जलपिण्ड
फुटाउनुपर्ने छताछुल्ल बनाई आफ्नै कुण्ड
अधिक हावाको चापले बेलुन फुटाएजस्तै
रित्याउनुपर्ने आफ्नै प्राकृतिक अस्तित्त्व
र तँछाडमँछाड गर्दै बेगिनुपर्ने
थामे र बोक्सीखोला भएर !
बेगियो थामिनसक्नु गरी थामेखोला
मच्चियो टुनामुनाको भ्रम तोडेर बोक्सीखोला
घन्काउँदै विद्रोहका स्वरहरू
बोकेर हिमाल रोएका आँशुका बाढी
मिच्दै आफैँले कोरेका सीमारेखाहरू
लछारपछार गर्दै दायॅाबायॅा किनाराहरू
छिचोल्दै प्राकृतिक र निर्मित अवरोधहरू
विचरण गर्दै खेतबारी र बस्तीहरू
अराजक बन्दै शक्तिको उन्मादमा
सोत्तर बनाउॅदै लहलह झुलेका बालीहरू
बगर बनाउॅदै आकार मिलेका गह्राहरू
खण्डहर बनाउॅदै मानव-निर्मित संरचनाहरू
लुट्पुट्यार लतार्दै आर्तनादी निरिह आवाजहरू
विचल्ली पार्दै प्राणपखेरु उडाउन नसकेकाहरूलाई
दुब्लाउँदै जाँदा हिमालहरू
र विष्फोट हुँदै जाँदा हिमतालहरू
बढ्दैछ खोला र बगरको आयतन
बढ्दैछ नदी, सागर र समुद्रको आयतन
बढ्दै जाँदा यही रितले समुद्रको आयतन
जलसमाधिस्त् हुनेछन् तटिय-शहर र बस्तीहरू
मासिनेछन् मानव सभ्यताका धरोहरहरू
फेरिनेछन् सुन्दर हिमगिरिहरू
विद्रुप काला पहाडहरूमा ।
भयानक देखिँदैछन् परिणामहरू-
जलवायु परिवर्तनका प्रतिकुल असरहरू
अस्तव्यस्त जलचक्र
विपदका विकराल रुपहरू
असन्तुलित पारिस्थितिकी
अनि कसरी सुरक्षित बनौँला र हामी पनि ?
निसन्देहः
कारण त हामी मानव-जाति नै हौँ
आमाको रोदनजस्तै हो प्रकृतिको रोदन
अतिसय पीडाजनक छ प्रकृतिको दोहन
पापकर्महरूको निरन्तरता कि मोक्षमार्गको खोजी ?
सुध्रिने कि सक्किने ?
आफ्नो चिहान आफैँ खन्ने कि नखन्ने ?
रोजाइ हाम्रै हो
सुध्रिनुको विकल्प केही छ र ?
*****
भैरहवा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला