तिम्रो नाममा जे छ नि
मेरो नाममा त्यो नहुँदा
म सानो कसरी हुन्छु हँ?
तिमीमा सप्पै तर मेरोमा केही हुँदा
म गरीव कसरी हुन्छु हँ?
रगत त रातै बग्छ नि हामी दुवैमा
मन दुख्ने पारा पनि एउटै एउटै हो नि
आँखाबाट झर्ने आँसु पनि एउटै एउटै हो नि
ओठभरि झुल्किने मुस्कान पनि एउटै एउटै हो नि
तर सधैँ
तिमीचाहिँ खीरमा
मचाहिँ पीरमा
किन हँ?
तिमी त खुशीहरूले डम्म अघाउँछौ
म त पसिना बगाउँदै
जिन्दगीलाई नै ख्वाम्मै काट्ने गर्छु
अहो!
बाँचुञ्जेलको भिन्नता
तिमी र म दुवै लाश बनेपछि
शङ्ख फुकाइमा कसरी हराउँछ हँ?
मलामीको हिँड़ाइमा कसरी बिलाउँछ हँ?
खदा र फूलहरूको भीड़मा
त्यो भिन्नता कहाँ लुक्छ हँ
तिमी र म दुवै मुर्दा भएको बेला ?
जिउँदो छँदा
तिमी र म निदाउने निद्रा पनि
कति अलग !
कति फरक !
चिरकालका लागि निदाउँदा मात्र
तिमी र म
एकै हुँदा रहेछौँ
एकै देखिँदा रहेछौँ
त्यस बेला
पीड़ा पनि एउटै
दुखाइ पनि एउटै
अनुभूति पनि एउटै
पानीमा बगाइ एउटै
आगोमा पोलाइ एउटै
बाँसको घोचाइ एउटै
खरानी पनि एउटै एउटै
फरक रहेछ त भीड़हरूमा
भीड़भित्रको तौलाइहरूमा
भीड़भित्रको जोखाइहरूमा
हाम्रा भोगाइहरूमा
हामी माझको
त्यो भिन्नता
अथवा
तिमी ठूलो र म सानो हुनुको
त्यो भिन्नता
जिउँदा आँखाहरूले हरदम देखे पनि
तिमी र मलाई एउटै देख्ने त
आगो मात्र रहेछ
माटो मात्र रहेछ
पानी मात्र रहेछ
अकाट्य सत्यता पनि यसैमा रहेछ
अरू त सबै नै
ढाँटहरू रहेछन्
छलहरू रहेछ्न्
देखावटी मात्र
बनावटी मात्र ।
डाउहिल,खरसाङ,भारत।