जन्मजात शौभाग्यशाली
कसैको दास हुन नसकेको
आत्मरतिमा रमाउने
एक स्वाभिमानी नागरिक
म मेरो स्वयं मालिक

न चिन्ता छ भोकको
न रोगको
न शोकको
चाहना केवल मोजमस्तीको
र, आदर्श एउटा अनुपम दुनियाँको

सपना थियो,
अनि अझैं छ, मेरो
सबलाई हरपल रम्न सिकाउने
सुखानुभूतिको मोक्षमा पुर्याउने
र, स्वनामधन्य मालिक बनाउने

आशा छ, मेरो
सबलाई मनमौजी बनाउने
करोडपति बन्न उक्साउने
सुरासुन्दरीमा चुर्लुम्म डुबेको हेर्ने
र, अलौकिक संसार सृजना गर्ने

हो, सपना त कति देखियो कति
कल्पनाको पहाड कति चढियो कति
सम्पन्नताको, खुसियालीको
आफ्नै एकलौटी सम्राज्य खडा गर्ने
र, निर्विकल्प शासन गर्ने

तर, अनर्थ नलागोस्
दोष नदेखाइयोस्
ईर्ष्या नगरियोस्
सपनामा आखिर मौलिकता हुँदो रहेनछ
र, विपनाको मालिक बनिदो रहेनछ

हो, मन लोभी हुँदो रहेछ
कहिलेकाही पापी बनिदिँदो रहेछ
मनलाग्दी पनि गर्दो रहेछ
र, सत्य-असत्यको गुमराहमा
दुस्शासन बन्ने प्रयत्न गर्दो रहेछ

त्यसैले सोची-विचारी जुर्मुराउनुपर्छ
कराउनुपर्छ, जाग्नुपर्छ
कथंकदाचित उच्श्रृंखल हुनुपर्छ
र, सबजनको हितमा स्वार्थी बन्नुपर्छ
मनको मालिक बन्ने दुस्शाहस गर्नुपर्छ

थाहा छ, मलाई
विपनाको सपनामा रमाउन खोजेको
ऐँठनको आक्रमणबाट तर्सिएको म
र, आफ्नो स्वधान्य मन बरालिएर
नक्कली मालिकिपन हराउँदो रहेछ

त्यसैले मनहरू बेलामौकामा
बेमौसमी वहावमा
भावनामा तरंगित हुँदा रहेछन्
र, अस्तित्वको खोजीमा
मालिक बन्ने बदख्वाईं गर्दा रहेछन्

तर, हुँदो रहेनछ
सोचेजस्तो
भोगेजस्तो
मान्छेको जिन्दगी
र, मालिकको दिनचर्या

यथार्थमा भोक र रोग
अभाव र विपन्नता
गरिबी र पछौटेपन
अन्याय र शोषणबाट गुज्रनु पर्दो रहेछ
र, मालिकीपन सबले गुमाउँदा रहेछन्

त्यसैले अलमलमा बित्दोरहेछ जिन्दगी
आशैआशमा मर्दोरहेछ मन
र, सपनाको मालिक
विपनामा दास बन्नु पर्दोरहेछ
अस्तित्व जोगाउन छट्पटाउनु पर्दोरहेछ

तसर्थ, आजकाल मेरा मनहरू
उत्ताउलो बन्न छाडेका छन्
सपनाको साम्राज्य बिस्तारमा नभई
विपनाको दास बन्नमा खुसी छन्
र, मालिकीपन त्याग गर्ने ध्याउन्नमा हुन्छन् ।