मेरो ईश्वर !
डा. कृष्णराज डिसी
छन्द : शार्दूलविक्रीडित
मेरो ईश्वर हात हो मगजको पर्दा उघारी बस्छ जो
हेरी दीनहरू सबै हृदयका दर्जा निहारी खुल्छ जो
मेरो ईश्वर गाथ हो सदैव सबमा आरोग्य भै फुल्छ जो
मेरो ईश्वर मानिस हो अभावहरूमा सेवा बनी भुल्छ जो
हेरेँ मन्दिर चर्च मस्जिद कुनै गुम्बाकहाँ छैन यो
दु:खीका घरमा रमेर दिलले डेरा गरी बस्छ यो
माथामा पसिना सिवाय अरु क्यै लाउन्न यो चन्दन
झाडी जङ्गलझैँ सुरम्य हरिया पाउन्न क्यै नन्दन
थोत्रा देवलमा अटेर यशले बस्दैन मेरो ईशा
मेरा राम तथा महेश्वरहरू माग्छन् सुनौला उषा
मेरा कृष्णहरू सुशान्त मुरली घन्काउँछन् गोठमा
कोरी कर्मकला सुकर्मपथमा राधा बनी ओठमा
नाना रत्न जडी जुहार यसले मान्दैन राम्रो कुनै
दु:खीका घरको मुहार हँसिलो त्यै ठान्छ मीठो सधैँ
खाली पाउहरू गरीब जनका त्यै देवका साथ हुन्
बग्ने खल्खल ती सुगन्ध पसिना त्यै देवका माथ हुन्
ठेला छन् जसका वलिष्ठ जहिल्यै त्यै देवका हात हुन्
जाडोमा पसिना चुहेर रहने त्यै देवका रात हुन्
नेपाली जन यी अतीव बलवान् त्यै देवका जात हुन्
आफ्नै जाति भई विभेद मनमा यो देशका घात हुन्
उत्साह
यम रेग्मी
छन्द: पञ्चचामर
जमेर बाँच्छु देशमा रमेर नाच्छु भेषमा
म बुद्धझैँ प्रबुद्ध छू सधैं सधैं विचारमा
म हैन पात घाँसझैँ खसेर धर्तीमा कुने
म छैन स्वार्थ माथमा लिएर दीन कुल्चने
बसेर हुन्न पीरमा उठेर पाउ चाल्नु छ
खनेर मार्ग हातले अगाडि स्वर्ग पार्नु छ
गयो कयौँ युगै यहाँ छरेर मात्र धाक नै
म लेख्छु भाग्य फूलझैँ गरेर काम मात्र नै
स्वदेशझैँ विशालता हुँदैन वस्तु लोकमा
स्वमानौँ प्रसन्नता हुँदैन आत्म माथमा
स्वराष्ट्रझैँ ठुलो महा हुँदैन कत्ति श्रीमती
नहार है कहीँकतै स्वदेशको दिऊँ गति
जमेर ध्यानमा बसे विवेक ज्ञान भेटिने
खनेर भूमिमा सुँघे अनाज वासना हुने
प्रकाश भित्रको चिनी ब्रमाण्ड सार बुझ्दछु
उमङ्ग पाइला लिई हिमाल माथ चुम्दछु
बा
उत्तम विचार भेटुवाल
छन्द : शार्दूलविक्रीडित
ब्रह्मा विष्णु महेश तुल्य भगवान् बाबा उनै शङ्कर
साँच्चै मन्दिरझैँ पवित्र रहलान् बाबा हुँदाको घर
देवी तुल्य मुमा समीप रहँदा होला खुसी दोब्बर
आमा दूर हुँदा बुबा हजुरको खस्ला स्वयम् अम्बर
बाबा कर्म दिने उनै रचयिता बाँड्ने महान् दर्शन
बाबा मार्ग हिँडाउने पथिकका लाग्छन् उनै दर्पण
के लेख्छौ कविता महान् कवि बनी गर्छौ र के चिन्तन
बाबाको गुणगान गर्न नसके के गर्नु त्यो सिर्जना
के सिक्लान् कखरा पिता हजुरको शिक्षाविना शिक्षित
बन्लान् सन्तति के विनापठनले होलान् कहाँ दीक्षित
पाएँ पढ्न घरै बसी नजिकमा चिन्ने भएँ अक्षर
बाबा शिक्षक हुन् बुझेर जननी बन्दै गएँ साक्षर
बोकी काँध गल्यो भन्यौ न कहिल्यै भारी बिसाईकन
साथै खेल्न पुग्यौ उमङ्ग बटुली चौडा बनाई मन
मिल्ने मित्र बुबा सयौँ सकसमा तार्ने उतार्ने कसी
बाबा सर्जक हुन् सुरम्य कविता रच्ने उनै हुन् मसी
हे छोरा खलपात्र हैन अब ता बन्नू तिमी नायक
भन्दै छन् गर हेरचाह मनले छोरी बनून् लायक
फेर्ने सास बुबा मुमा हजुरका सन्तान हुन् धड्कन
सेवा भावविना हुनेछ नरको बेकार त्यो जीवन ।
चित्तशुद्धि
पदम दाहाल
वस्तुभाउ नहून् वृद्ध भीर खोज्ने गरी कतै
वृद्ध बुद्धु नहून् मान्छे निहुँ खोज्ने नबाफी क्वै
सेखी जिल्नु परेदेखि बराँठे नबनीकन
खेलाइदे तँ नै बुद्धि मूल्यभित्रै छ जीवन
रीस थिचेर पैताला मुनि राख्न सक्यौं भने
उक्लिनेछौं र चढ्नेछौं व्योम सापट झैँ हुने
नहोस् यौवनको मान्छे चित्त क्षुद्र विचारको
धमिलो अमिलो चोट भोगाउँछ प्रहार त्यो
नहुन् वृद्ध जुनी बच्चा-तुल्य काँचोपना हटून् !
बानी रूप नहुन् उग्र श्रेय सम्भावना फुटून् !
मूल्य आदर्श हुन् सच्चा भए दोष नियाल रे !
ध्यान मग्न बसी एक्लै भित्री ज्ञान उमार रे !
नत्र बढ्ला संधैं चिन्ता क्रोध खन्ला कि खाडल ?
सफा चित्त बढार्दे तँ सकार्दे छ कि बादल ?
पानी माथि कसै हुन्न ओभानो दहमा पसे
थोपरी दोष अर्कामा कहाँ जोगिन्छ मापसे
बिझाएपछि नै काँडो पीडा बन्छ कि चर्किदै
महामानवता धर्म बिथोलिन्छ कि त्यो निधै ?
धैर्य वेगर पाखण्डी पिरोलिन्छ व्यथा बनी
सूर्य खग्रासले गाँजे जस्तै व्याधि जता पनि ।
हदै योग्य गरूँ काम नवैऱ्याऊँ नहुन् भुल
मोतीबिन्दु खुलून् चाँडै अँध्यारा नरहुन् खिल
जैल्यै शिखरमा चढ्ने ऊर्जा शक्ति सियाल दे !
चित्तशुद्धि गराएर चित्ताकर्षण चित्र दे !
न छो
अर्जुन शर
छन्द: शिखरिणी
न छो मेरो सीमा किन छुन दिने त्यो लिपु न छो
न छो कालापानी टनकपुर त्यो गण्डक न छो
न छो कोशी राप्ती जलधि त्रिशुली बिल्कुल न छो
न छो मौरी गोलो सकल जनता एक छ न छो
न छो मेरो झण्डा फनन खुकुरी नाच्दछ न छो
न छो मेरो धर्ती जनक भृकुटी बुद्ध वन यो
न छो अग्लाअग्ला शिखर शिरको चन्दन न छो
न छो मेरो टोपी गुनिउँ पटुका मादल न छो
छिमेकी हो भन्दै सहनु सहियो ज्यादत सधैं
सिमाना नाघी त्यो वरवर हुँदै आउँछ अझै
न छो भन्दाभन्दै दिनदिन मिच्यो साँध लिपुको
परोस् घम्साघम्सी म पनि लडुँला शक्ति जति होस्
हदै गर्लास् नाका सबतिर थुनी पस्न नदिने
बसौँला के हेरी जगत जननी टन्न छ दिने
म मेरो सीमाको हर समयको ढाल हुँ न छो
खुँडा खुर्पा बोकी तँ तिर बढुँला काल हुँ न छो
शिवराज १शिवपुर कपिलवस्तु
नववर्षको शुभकामना
छविलाल आचार्य
छन्द : शार्दूलविक्रीडित
बाँडेथेँ शुभकामना विगतमा झन् भ्रष्ट बड्दै गए
लोभी दम्भि र तस्करहरु झन् प्रष्ट बन्दै गए
जाली भ्रष्ट र क्रुर नीच पनका देख्यौँ जता हो त्यतै
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै
नाकाबन्द भयो सिमा वर स-यो काँपिन् धरा थर्थरी
हाम्रा ती शुभकामना सँगसँगै आँसू झ-यो बर्बरी
कोरोना विष फैलियो मरिसके लाखौँ जता हो त्यतै
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै
बढीले जलमग्न भो धरती यो पैह्रो चलेको थियो
कैयौँ लास म देख्दथेँ बगरमा छाती जलेको थियो
कोरोना विष फैलियो मरिसके लाखौँ जता हो त्यतै
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै
अर्काको मतियार भै मुलुकमा हेप्ने र चेप्ने हटून्
सच्चा मानवता हुनेहरु सबै यै देशमानै अटून्
लत्यावोस् चुसुवा लठैतहरु जो लुट्थे र रम्थे हदै
हाम्रो बर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै
भित्रियोस् अब लोकतन्त्र जनमा ती कन्दरा गोठमा
नौला भाव र सिर्जना चलिरहुन् लाली चढून् ओठमा
भागोस् ब्यग्र कथा ब्यथा विगतका देख्यौँ जता हो त्यतै
हाम्रो बर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै
पोखरा १६ कास्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।