खोलै खोलाको बाटो हुँदै
नदी नदीको राजमार्ग हुँदै
नागबेली भएर
यी भुइँकुहिरोहरू
एक तमास
हुलका हुल आइरहन्छ

उर्लिएको अरुण र तमोरको
वर्षे बैंस हेर्ने
मेरो जिजीविषालाई
एकाएक छेकिदिन्छ
माथि माथि पहाडमा गएर
एक्कासि ठोक्किन्छ
अनि लिन्छ समानान्तर आकार
कहिले पहाडलाई शीरमा
सेतो फेटा कसिदिन्छ
कहिले तल गढतीरलाई
फरिया लगाइदिन्छ

घण्टौंदेखि म
डाँडापारिको देउरालीबाट
नियालिरहेको छु
चिहाइरहेको छु
यी भुँइकुहिरोहरू
कति चंचल
कति अस्थिर

ए… भुइँकुहिरो
बिन्ति छ
एकैछिन हटिदेऊ न
आँखाभरि हेर्नु छ
मेरो मायालुको गाउँलाई।
□□
नेर्पा, खोटाङ