कवि तथा पत्रकार राजेश ढुंगानाले २०३५–३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनको पृष्ठभूमिमा लेखन–यात्रा थाल्नु भएको हो । कविका दुई कविता–संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ र ‘मैले खोजेको देश’ प्रकाशित छन् । उहाँसँग पत्रकारिताको पनि लामो अनुभव छ ।

नखिचिएको तस्विर सुन्दर

विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइराला

गर्छु नसकिने कार्य म
नभएको कोखमा जन्मिन्छु म
अर्पण प्रणय म कामिनी अज्ञानकन
लिन्छु चुम्बन लोपिएको रस अधरलाई
नजन्मेको छोरालाई माया गर्छु म
मेरो रगतमा बन्दी भएकी
दुहिता अजातकन

नसुनेको सङ्गीत लाग्छ मधुर
नखिचिएको तस्वीर सुन्दर
नभएको मित्र अँगाली हिँड्छु
नभएको शत्रुकन जुझ्छु म

म नभएको गाउँ रमाइलो हुन्छ
र भोलिको उषा सबभन्दा गुलाफी
नदेखेको सपना सुन्दरतम्
पर्सिको पूर्णिमा चहकिलो
नदेखेको स्वर्ग झिलिमिली
उठाउँछु बाहु कातर म
नभएको स्वर्गमा,
नभएको देउताकन
अन्धो नयनबाट
नचुहुने आँशु
चुहाउँछु म
नभएको खाडलमा गाडिन्छु म
नभएको मृत्युमा सेलाउँछु म
नगर्ने काम गरिहिँड्छु म ।

(प्रस्तुत कविताका कवि मूलतः कथा, डायरी र जीवनी लेखनमा परिचित हुनुहुन्छ । तर, महान् साहित्यकार कोइराला कविता पनि लेख्नु हुन्थ्यो । उहाँको एक कविता संग्रह प्रकाशित छ ।

कोइराला साहित्यका बारेमा भन्नु हुन्छ– राजनीतिमा सानोभन्दा सानो मानिसलाई पनि पोशाक चाहिन्छ भने साहित्यमा सम्राट पनि निर्वस्त्र हुन्छ । तसर्थ म यो भन्न सक्छु कि, जीवनको अनगिन्ती सम्भावना– सुन्दरताको असीम क्षेत्र, अनुभूति, भावनाको अतुल महासागर साहित्यको परिधिमा पर्ने नियम हुन् । साहित्यको सीमा आकाश हो ।

यसर्थ कोइराला साहित्यकार मात्र नभएर साहित्यको परिभाषा र व्याख्या गर्ने अद्भुत क्षमता राख्ने हस्ती पनि हुनुहुन्छ ।)