जिन्दगीको बाटो सिधै थियो
घुमाउरो बाटो आफैँले रोजेको हो
गुन्द्रीमा पनि हर रात मीठो निद्रा पर्थ्यो
जिन्दगीमा ऐँठन पर्न थालेको त
औकातभन्दा ठूलो सपना देखेपछि मात्र हो
खुसीको मैदानमा खेल्नु भनेको
बाउआमाको काखमा खेल्नु नै हो
न त्यहाँ कसैलाई जित्नु नै पर्थ्यो
अरुलाई लडाएर भए पनि जित्नु परेको त
स्वार्थी संसारमा खेल्न निस्किएपछि मात्र हो
जन्मदा रुवाई र मर्दा घाट एकै थियो
पछाडि हेर्न मात्र अगाडि जानु परेको हो
छोटो जिन्दगीमा दाजुभाइ किन लड्नु पर्थ्यो
आफ्नो बिर्सी पराइसँग अँगालो हाल्नु परेको त
सुख-दुःखमा दाजुभाइ देखादेख नभएपछि मात्र हो
आत्मसम्मान बाजेकै पालामा धेरै थियो
किनकि बाजेले आफूभित्र खुसी भेटेर न हो
बाउ-बाजे र देशलाई दोस्दै किन हिँड्नु पर्थ्यो
अरुको वीरतामा मपाईं भन्दै हिँड्नु परेको त
नाति स्वघोषित महामहिम बनेपछि मात्र हो ।
रोङ-४ इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला