विचित्रको यो ऐँजेरू
आफैँ माटो चिर्दै उम्रेको देखिएन
ढुङ्गा फोरेर उम्रिन आँट गरेन
परनिर्भर
अर्काको छातीमा उम्रिन्छन्
साम्राज्य जमाउँछन् त्यहीँ
म एक सिमलको बूढो रुख
उम्रेको छ मेरै छातीमा ऐँजेरू
बढाएको छ साम्राज्य
आखिर मेरै शरीरमा टेकेर
तिनलाई त्यसैमा हाईसन्चो
कोपारेको छ हृदय
घोचिरहन्छन् आँखाहरू
अँठ्याएको छ सास नली
यद्यपि मैले प्रत्याक्रमण गरेको छैन
सहनशिलता छ ममा
मौन छु तिनको आक्रमणप्रति
यदि म गर्ल्याम्मै ढलेँ भने
सरप्राइज हुनेछ तिनलाई
अनि ऐँजेरूको अस्तित्व ?
यो जङ्गली समाज
यो ऐँजेरू स्वभाव
विद्यमान छन् जिउँदै
यी ऐँजेरूहरूले-
हात काटेर- समात भन्छन्
फोक्सो निकालेर- सास फेर भन्छन्
मुटु झिकेर- ढुकढुकी चला भन्छन्
आँखा झिकी फालेर- यता हेर भन्छन्
गर्दन छिनालेर- कति बाँच्न चाहन्छस् भन् ? भन्छन्
जबसम्म सहनशील रहनेछन् सिमलहरू
जबसम्म मौन सहने छन् अन्यायहरू
तबसम्म मौलाउने छन् ती ऐँजेरूहरू
ती ऐँजेरूहरू-
आफ्नो अस्तित्व त छँदै छैन
सहअस्तित्वमा विश्वास राख्दैनन्
अर्काको अस्तित्व सखाप पार्न लागिरहन्छन् ।
——-
निस्दी गाउँपालिका-६
अर्चले,पाल्पा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।