ए आमा!
-होई!
मलाई अर्को ६ जुनी जन्म नदेऊ है,
-क्या भन्दिछै यसो चेली?
आमा, मलाई अर्को ६ जुनि जन्म नदेऊ है
तिम्री चेली कतै सुरक्षित छैन आमा!
तिम्रो गर्भमा सुरक्षित नभएर मलाई धर्ती
देखायौ,
आमा, गर्भभन्दा भयङ्कर छ यो दुनियाँ!

जन्मायौ,
छोरी जन्मियो भनेर घरकाले फाल्दिन्छन् कि भन्ने डर,
अल्लि ठूली भएँ
आफ्नै घरका मान्छेबाट जोगिन्नँ कि भन्ने डर,
घरबाट बाहिर निस्कूँ
कसैले लगेर बेचिदिन्छ कि भन्ने डर,
स्कूल जाउँ
त्यता पनि डर,
हाइस्कूल, विश्वविद्यालय जाउँ
त्यता पनि त्यस्तै डर,
कुनै विषय पढेर
विशेषज्ञ बनुँ
बलात्कृत हुन्छु कि भन्ने डर,
अँधेरा गल्लीमा हिँडूँ
कसैले अन्जान जग्गामा गाडी दिन्छ कि भन्ने डर,
मेलापात जाउँ
उखुबारीमा फाल्छन् कि भन्ने डर,
मलाई डर लाग्छ आमा
यो समाज देखेर,
यहाँ रुख ढाले जसरी
मान्छे ढाल्छन् आमा,
रुखका जरा रेटे सरी
मान्छेका गला रेटिन्छन्,
जुकाले रगत चुसे सरी
नाबालिकाका स्तन चुसिन्छन्,
साहुजीले गाता च्याते जसरी
नारीका सुरुवाल च्यातिन्छन्,
अब त म जताततै पुरुष मात्रै देख्छु,
त्यो सूर्जे पनि पुरुष लाग्छ
मलाई दिनभरि चर्काइरहन्छ,
त्यो चाँद पुरुष हो
मलाई अन्धकारमा पर्खी रहन्छ,
छायाँ पुरुष हो
मलाई हरबखत पछ्याइरहन्छ,
त्यो सडक पुरुष हो
म जता हिँड्यो उतै पुग्छ,
त्यो बादलु,
फूल,
रूख,
नदी,
पहाड,
हिमाल,
तराई,
माटो,
हिलो,
गरा,
बगर,
मलाई सब पुरुष लाग्छन्!

आमा, मलाई अर्को ६ जुनीमा जन्म नदिनु है!

खप्तड छेडेदह ५, बाजुरा
हाल: धनगढी २, कैलाली