बा..!
हेर न तिम्रो लागि टोपी, दौरा र सुरुवाल ल्याइदिएको छु
उठ न बा… यो छोरोको पहिलो कमाई स्वीकारी देऊ
आज तिम्रो मुख हेर्नुपर्ने दिनमा लाश हेर्नु परेको छ
नसोचेको घटना मैले परमेश्वरसँग बेहोर्नुपरेको छ
हाम्रैलागि तिमी साउदी गयौ..
आफ्नो कलकलाउँदो जवानी मरूभूमिमै सुम्पियौ
परिस्थिति के आइलाग्यो, जेल जीवन भोग्नु परो
सकिन बा… मैले तिम्रालागि ब्लड मनी जुटाउन
मैले त प्रयास गरेकै थिए तर पनि सकिनँ
अब घाउ त लागेकै छ मनमा, कसरी सकु र मँ लुकाउन
ए बा…!
मेरो बा…!!
उठ… उठ न तिमी…!!!
के भनु मँ, मेरी आमाको सिउँदो पुछियो
के गरुँ र मँ, मेरो हजुरबा’को मुटु नै लुछियो
कहाँ बसाइँ सरुँ र मँ, मेरो आफ्नै संसार नै बुच्चियो
हेर न बा…
यो घाटमा आज सबै छोराछोरीहरू आफ्ना बा’को मुख हेरिसकेर मात्र आए
मैले मात्र किन वेदनाका आँशु खाएँ ?
एकदिन अवश्यै परमेश्वरसँग सोध्नेछु म
हजुरबा’को दिनदिनको तपस्या कहाँ चुक्यो भनेर
मेरी आमाको पतिव्रत धर्म कहाँ झुक्यो भनेर
प्रश्न गर्नेछु म
नभए स्वयम् नै मर्नेछु म
तिम्रै त प्रेमले असल छोरो हुन खोजेको थिएँ म
तिम्रै हौसलाले लागू औषध छोडी सत्बाटोमा जोडिएको थिएँ म
तिम्रै दु:खबाट प्रेरित भई मन नपर्ने पेशा पनि रोजेको थिएँ म
आज सारा संसार बन्द भए मेरा
निसास्सिएर इन्द्रियहरू आफैँमा स्वच्छन्द भए मेरा
तिम्रो चितासँगै ढुकढुकीसमेत मन्द भए मेरा
संसारकै अभागी छोरो भए म
संसारकै अभागी छोरो भए म ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।