आजको युग
फूर्तिको युग
धन हुनेहरू
धनले नै
फूर्ति लगाइरहेकै हुन्छन्
जन हुनेहरू
जनकै बलमा…
पद हुनेहरू
पदैको गरमले
मन नहुनेहरू
अरूको मन रूवाएर
जनता हुने आवश्यक योग्यताको अभावमा
जन्तु, जन्ती र जनमै
भड्किरहेका हामीहरूलाई
सत्ता, शक्ति र सामर्थ्यको तागतले
आजको युग
कर्णको झैँ हरिविजोग
बनाइरहेकै हुन्छ
कर्णले उदारतापूर्वक
प्रदान गरेको
‘श्यामन्तक मणि’
शकुनीहरूको पासाको खाल भएको हुन्छ
एक दिन मैले पनि
मर्नुपर्छ भनेर
माया बाँड्न जान्नेहरू सन्तानहरूको
नेपाल आमाले
प्रचूर सृष्टि नगरूञ्जेल
माया बाँड्ने चेतना, संस्कृति र संस्कार
प्रचूर प्रदान नगरूञ्जेल
कर्णहरूको हरिविजोग भइरहेकै नै छ
झर्ला र खाउँलाहरूको जमातमा
दानवीर कर्णहरू
एक्लो वृहस्पति भएकै हुन्छ ।

भोजपुर