हिड्न सकेँ
दौडिन सकेँ
सोच्छु
म किन उड्न सकिनँ !
कहिलेकाहीँ मुग्ध हुन्छु, कल्पनामा
एकोहोरो उडिरहेको हुन्छु
कावा खाँदै
पखेटा फिजाउँदै
पुगेको हुन्छु लाम्टाङ
छोएको हुन्छ कञ्चनजंघा
हेरेको हुन्छु नाम्चे बजार
देखेको हुन्छु सगरमाथा !
झस्किदा
हुन्छु
उही घर
उही कोठा
लाग्छ मलाई
आर्चियोटेरिक्स हुँ
आदिम चरा
खुल्ला आकाशमा
उड्न मन छ चरासँगै
लुक्न मन छ बादलसँगै
हराउन मन छ हुरीसँगै
लड्न मन आँधीसँगै !
ए चरा !
उड्न मन छ तिमीसँगै
गुँड बनाउन मन छ रुखमा
ओसारेर
झिँजाहरू
परालका त्यान्द्राहरू
बाबियाका सराहरू
बन्ने रहर छ
तिमीजस्तै श्रमजीवी
तिमीजस्तै कर्मशील
तिमीजस्तै लगनशील
कोरल्नु छ भविष्य
बनाउनु छ वर्तमान
सम्झिनु छ भूतकाल !
हो चरा
तिमीजस्तै उड्नु छ मलाई
बिना राहदानी र टिकट
तिमीजस्तै पुग्नु छ
प्रकृतियुक्त एयरपोर्ट !
जहाँ पाइन्छन्
स्वच्छ वायु
र
लामो आयु !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला