बा १

मैले थाहा पाएदेखिनै
बाले
पहाडहरूमा खनजोत गरिरहनु हुन्थ्यो
समथरहरूमा ड्याङ र कुलेशा बनाइरहनु हुन्थ्यो

गज्जबको कलाकार हुनुहुन्थ्यो उहाँ
पाटा , गरा , सुर्का र कान्लाहरूमा
समय सँगसँगै
नयाँ नयाँ कोलाज सजाइरहनु हुन्थ्यो

अरू कलाकारको त चित्रमा
न बास्ना चल्छ , न दाना चढ्छ
तर बाले बनाएका चित्रहरूमा
दाना र बास्ना दुवै चल्थे

एकदिन बालाई छोडेर
पहिलो पटक घाम झुल्कने देश हेर्न गएथेँ म
फर्कँदा बा हुनुहुन्थेन घरमा
बाले नै सजाएका जीवित चित्रहरूमा पनि हुनुहुन्थेन

अरूले भने –
बा अब कहिल्यै भेटिनुहुन्न
त्यसपछि बालाई कहिल्यै भेटिन मैले

बा नभेटिएपछि
बाका चित्रहरू पनि बिस्तारै धमिला बन्दै गए

अचेल
बाले चित्र कोर्ने गरेका हरेक पहाडहरू नै बाजस्तो लाग्छ
मेरा अँजुलीभरि उज्यालो दिइरहन खोज्ने
आकाशका सबै तारा जून नै बाजस्तो लाग्छ

बा ओहोरदोहोर गरिरहने
एउटा उकालो गोरेटो अझै छ गाउँमा
त्यो नै बा हो जस्तो लाग्छ ।

बा – २

त्यसबेला गाउँमा
खेत थियो , बारी थियो , हरियाली थियो
नदी-नाला र सिधासाधा गाउँलेहरू थिए
खासमा गाउँमा बा हुनुहुन्थ्यो, बामा गाउँ थियो
गाउँले सबै आफन्त थिए
गाउँ साँच्चिकै गाउँ थियो

गाउँमा खेतीपाती भएपछि
जाँगर पनि थियो बाको

बा
ननिदाउँदा पनि खुशी
निदाउँदा पनि खुशी
रोग लाग्दा पनि खुशी
भोक लाग्दा पनि खुशी

अचेल गाउँमा बा हुनुहुन्न
गाउँमा घर र आँगन पनि छैन
खेतीपातीमा खनजोत पनि छैन
बा नभएपछि खासमा, गाउँ पनि गाउँजस्तो छैन

अहिले गाउँ शहर सबैलाई रोगले छोपेको छ
घर घर ढाकेका छन् भोजन र भान्साले
तर गाउँ शहर सबै रोग र भोकले ढाकेको छ

थाहा छ तपाईँलाई
बा अहिले गाउँमा हुनुहुन्न
बा नभएपछि उज्यालो पनि छैन गाउँमा ।

बा- ३

सानोमा
बाले काँधमा बोकेर हिँड्नु हुन्थ्यो
बाको काँध नै सगरमाथाजस्तो लाग्थ्यो

अलिपछि
बा घोडा बन्नुहुन्यो र चढाउनु हुन्थ्यो पिठ्यौँमा
संसार नै बाको पिठ्यूँ त हो नि
चढन नसक्ने के नै छ र ? भन्ने लाग्थ्यो

उमेर बढ्दै गएपछि
बा एकाएक हराउनुभयो
बा हराउनु भएपछि
सारा पृथ्वी नै आफ्नै पिठ्यूँमा चढ्न आएझैँ लाग्छ
जीवनका हरेक क्षण सगरमाथा चढ्दैछु जस्तै लाग्छ

बा-४

बा
जिन्दगीभरि
आगोको भुङ्ग्रोमा हिँडिरहनु भयो
हिउँको खरपसमा दौडिरहनु भयो
हामीलाई भने दिइरहनु भयो
हिमवायुको शीतल छहारी

कहिल्यै गुनासो थिएन जिन्दगीसँग
कहिल्यै माग थिएन र घमण्डको गन्ध थिएन

बाले कुनै पर्दा र पर्खाललाई टेर्नुभएन

बा हुनुहुन्थ्यो र सधैँ भरोसाको जहाज थियो
बा हुनुहुन्थ्यो र जताततै सुगन्धको बहाव थियो
सबै प्रहारको हार थियो
मैलो थिएन, उज्यालो वारपार थियो

अहिले बा हुनुहुन्न
सबै सबै टोक्न र चिथोर्न उभिएका छन् बाटाहरूमा

सोचिरहेछु
बाको स्पर्श र आँखा पाउनु जत्तिको खुशी
अरू के नै हुन्छ र जिन्दगीमा ।