१) चप्पल

स्यानामा बाको हात समाउँदै “फड्के” तर्दा
चिप्लिएर चप्पल खोलामा खस्यो
झन्न बाले हात समाएर म बाँचे
चप्पलले खोलाको भुमरी खादै पर पुग्यो

हेर्दाहेर्दै अलप भो
म बिछोडिएँ चप्पलसँग
बाँकी रहेको एउटा मात्रै चप्पल बोकेर पारि पुगेँ
पिलपिल आँशु बनाउँदै त्यही चप्पल हेरिरहेँ
खासमा खोलाले मेरो चप्पल मात्रै बगाएन
वर्षौँपछि बाले ल्याइदिएको माया बगायो
मेरो खुसी बगायो

भोलि म
खाली खुट्टा स्कूल जानेछु
मैले भन्न पाउने छैन –
“हेर साथीहरू मेरो नयाँ चप्पल तिमेरूको जस्तै”

दागाधरेका काँडाहरूले
रगताम्य बनाउने छन् मेरा कलिला गोडाहरु
खुच्चिङ भन्नेछ्न्-
म हिँड्ने बाटाका ढुङ्गाहरू
निरस लाग्नेछ्न्
बाटैभरि फुलेका फूलहरू

अब मसँग
एक जोर फाटेका ड्रेस मात्र बाँकी छन्
ए गुरु !
मलाई भोलिबाट नभन्नू- ओई चप्पल लगाएर आइज !

२) बाटो

पहिले
आमाले तातेताते गर्दै बाटो देखाउनु भो
हिँडियो, लडियो, फेरि हिँडियो
बाले उसै सिकाउनु भो-
लड्दै नलडी हिँड्नु
हिँड्दै जाँदा
ठेस त लागिहाल्छ
उठ्नु र फेरि हिँड्नु

जब घर छोडियो
एक्लै हिँडियो
न हिँड्न सिकाउने कोही भए न हिँड्न साथ दिने
सपनाहरू थिए- ठेस लागेर लडे
लक्ष्यहरू थिए- गन्तव्य नपुगी ढले
जीवनका कठिन बाटाहरू हिँड्न नजानेर कतै अलमलिए
जंघार तर्न नसकेर टोलाइरहेको यात्री जस्तै
विस्मयको पहाड बोकेर उभिरहेको छु
फर्कौं आधा बाटो हिँडे
नफर्कौं अब हिँड्नुको अर्थ छैन
ए बाटो
म कस्तो दोधारमा छु
जीवन भर हिँडेर पनि कतै नपुगिने यात्रामा
भन
अब के गरुँ ?

३. भट्टी

साँझ भट्टी पस्दैमा
तिम्ले जँडिया भनिदिएपछि
म मात्तिएको हो

म के हुँ ?
म को हुँ ?
म कहाँबाट आएको हुँ ?
म कहाँ जाँदैछु ?
तिमीले बुझ्दै नबुझी
मलाई जँडिया बनाइदियौ !

ए ! सडक- तैँले त भनी दे !
ए ! बर्षात – लौन भनी दे !
म को हुँ ?

सपनाको मात लाग्नु -जँडिया हुनु होइन
भट्टी छिरेर जीवन ओकल्नु -जँडिया हुनु होइन
यस्ता सपना कति मर्छन् कति उम्रन्छन्
एउटा सपना छिन्नु- गन्तव्य सकिनु होइन

तिमीजस्तै बाटो बदलेर हिँडेको भए
म ! “म “हुने थिइनँ
म हुनु- सपना जिउँदो हुनु हो, जाग्दो हुनु हो
सिम्रिका
भट्टी छिर्नु जँडिया हुनु होइन ।

हालः काठमाडौं, नेपाल