गर्दै थिएँ विचरण आफ्नै जगतमा स्वतन्त्रतापूर्वक
फॅसेछु मछुवाको षडयन्त्रको जालमा
थुनिएको छु अहिले एउटा सिसाको बाकसभित्र
कैदी भएको छु समुद्रबाट अपहरित भएर यहाँ
दिन्छन् थोरै चारो सिर्फ प्राण धान्नको लागि
ताकि मनुष्यको मनोरन्जनको खातिर
म निरन्तर क्रियाशिल रहन सकॅू
छन् मसँगै दुईचार कैदीहरू
कोही सजातीय, कोही विजातीय
बाध्य छौं
नबिसाइकन कैदखानामा नृत्य प्रदर्शन गर्न
मानौं
हामी खरिद गरिएका नर्तकीहरू हौं
चार दिवारभित्रै हो हाम्रो संसार
मूल्यहीन छ हाम्रो क्रन्दन
शून्यतामा विलीन छ हाम्रो चिच्याहट
कैद छ दिवारभित्रै हाम्रो आर्तनाद पनि
बखान गर्छन् हाम्रो सुन्दरताको
बाकसबाहिरको संसारमा रमाउनेहरू
तिनलाई के थाहा
हाम्रो बन्दीजीवनको पीडा
हाम्रो स्वतन्त्रता-हरणको मर्मस्पर्श
लट्ठ छन् शरावको चुस्कीमा
डुलाउॅछन बेलाबेला नयनहरू
मानौं हाम्रो सुन्दरताको दृष्यपान
सितन हो मदिरापानको
हाम्रो छटपटीलाई सुन्दर नृत्य सम्झेर
मोबाइलको क्यामेरामा कैद गर्छन धित् मरून्जेल
तिनलाई के थाहा ?
थुनिएको छ हाम्रो चित्कार र आंशु पनि बाकसभित्रै
निर्वासित गरिएको छ हामीलाई
दुईचार फिटको बाकस-राज्यमा
विशाल समुद्री-साम्राज्यबाट विस्थापित गरेर
विनाकसूर
कसैको मनोविनोद र आयआर्जनको प्रयोजनार्थ
किन अपहरित हुनुपर्ने हामी ?
किन थुनिनुपर्ने हामी ?
न हामी आततायी हौं न त खलनायक
खै कता गएछन्-
वातावरण संरक्षणका अभियन्ताहरू
प्राकृतिक न्यायको वकालत गर्नेहरू
एनिमल राइट सम्बन्धी सञ्जालहरू
एक्वारियम अर्थात् कैदीखानाका यी जीवहरूले
कहिले न्याय पाउने होलान् ?
हालः भैरहवा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला