सम्पादक: यम रेग्मी
कोशी प्रदेश संयोजक: माधव पोखरेल “गोज्याङ्ग्रे”
आत्माको लय खोज्छु म
डा. टङ्क पन्थ
छन्द:अनुष्टुप
आफू स्वयम् बढे मात्र खुल्ने छन् द्वार जिन्दगी
नपढे राम्ररी आफू मिल्नेछन् हार जिन्दगी
माटाको ममता भित्र आफैलाई म भेट्दछु
राष्ट्रका गीत गाएरै जिन्दगी यो घचेट्दछु ।
१
लोक कल्याणमा चल्ने भावना देख्न थाल्दछु
आफै भित्र जमेका यी कल्पना लेख्न थाल्दछु
पुग्नै छ लक्ष्यमा हामी काँडाका बिचमा फुली
डुब्नै छ साधना भित्र आशाका दीपमा खुली ।
२
माटाको गन्धले भित्र माटो खोज्न लगाउँछ
सिर्जना कर्ममा लाग्दा अनौठो बल आउँछ
मेरा छन् पौरखी हात गोडमेल म गर्दछु
मेरा छन् गर्विला साथ नित्य संवेग भर्दछु ।
३
जन्मिएँ गाउँमा आफू पाखामै हुर्किएँ यहाँ
सभ्यता आँतमा बोकी बाटामै फुर्किएँ यहाँ
कहानी सब बन्दैछन् बाल्यकाल बिताइयो
सपना टुट्दछन् सारा दिव्य काल बिताइयो ।
४
कर्मले सिर्जना बोल्छ धर्मले ध्यान बोल्दछ
प्राणले देह यो बोल्छ ज्ञानले तत्त्व खोल्दछ
म खोज्छु ब्रह्मले मेरो अस्तित्व कसरी भयो ?
म जोख्छु तर्कले हाम्रो स्वत्वको पहिचान यो ।
५
म भन्ने भित्रको जागा आत्माको लय खोज्छु म
जो छन् काँतर औ लाछी भित्रको भय खोज्छु म
नखोजी भेट्न को सक्छ रहस्य बाँच्छ जिन्दगी
नसोची लेख्न को सक्छ अनौठो लाग्छ जिन्दगी ।
६
माया बस्यो के गरी
मुक्ति पोखरेल
छन्द:शार्दूलविक्रीडित
तिम्रो रूप सुधांशु तुल्य छ यहाँ उद्दीप्त छौ कामिनी
साह्रै शीतल मिल्छ ग्रीष्म ऋतुमा साथै हुँदा भामिनी
तान्दै छ्यौ भन के छ भित्र मनमा हे स्वर्गकी किन्नरी
टाढा खोज्दछु जान सक्तिन कतै माया बस्यो के गरी ।
१
बेरिन्छन् लहरा तथा तृणणहरू ढाकेर वृक्षैभरि
त्यस्तै बन्धनबाट फुत्कन त्यसै पाइन्न कस्तै गरी
तिम्रो स्पर्श तरङ्ग दिन्छ जहिल्यै बस्तासँगै सुन्दरी
भागौँ भन्दछु याद आउँछ त्यतै माया बस्यो के गरी ।
२
ज्योत्स्ना बल्छ मुहारको धपधपी सादृश्य सौदामिनी
डुल्छ्यौ यो मनभित्र काम शरको वर्षा गराई तिमी
साह्रै चञ्चल चालले मनभरि बस्छ्यौ गई सुस्तरी
बस्ता दूर गए पनि नभुलिने माया बस्यो के गरी ।
३
साँच्चै हौ कि तिलोत्तमा भन कुनै हौ मेनका उर्वशी
गर्छ्यौ हास्य विनोदका र रसिला वार्ता अनेकौँ झिकी
राख्यौ त्यो दिलभित्र गोप्य रितले सर्वस्व मेरो हरी
छुट्नै सक्तिन सम्झना छ दिलमा माया बस्यो के गरी ।
४
चौडा वक्ष छ पुष्ट छन् कुच दुवै सानो छिनेको कटि
पार्ने मोहित झन् कपोल रगिला छन् ओष्ठ विम्बैसरि
साक्षात् छ्यौ प्रतिमूर्ति यौवनवती वासन्तिका मञ्जरी
त्याग्नै सक्तिन जान्छ यो मन त्यतै माया बस्यो के गरी ।
५
खेदको वर्षा
पर्शु पहरा
छन्द: शार्दूलविक्रीडित
आभा छैन यहाँ समस्त चिजमा अन्धेर आभाष छ
अत्याचार छ मानवी लहरमा दुष्टयाइँको रास छ
रिक्तै रिक्त छ छैन मोद मनमा शोन्दर्यको भावन
तिक्तै तिक्त छ पूर्णरुप रसमा दुर्गन्ध आश्वादन ।
१
लुप्तै लुप्त छ शान्तिको पद यहाँ भो, क्रान्तिको उद्भव
गुप्तै गुप्त छ धर्मको लहड यो पापी छ यो बैभव
मार्दै माद छ भाइ भाइ बिचमा बोकेर वैरी पना
दग्धै दग्ध छ ल्केशको नजरमा आफन्तको शोभन ।
२
स्वार्थै स्वार्थ छ लोभको बहुलमा कर्तव्य छाडीकन
हिंसा मात्र छ क्लेशको नजरमा बैचित्र्य डाकीकन
खेदै खेद छ शान्ति छैन मनमा निश्वास भारी छ यो
त्रासै त्रास छ यो कुदार विधिमा विश्वास हारी गयो ।
३
न्यानो काख छ मातृको तर यहाँ सन्तान वैरी भए
के शोभा तरुको उजाड वन भै ती फूल वैली गए?
थोपा ती जलका मिलेर सविता बग्दै गए सिन्धुमा
हाहाकार भयो सुकेर जल नै देखा परे विन्दुमा ।
४
जोहो नायक व्यस्त भो र विधिमा बन्यो चमेरो सरी
यस्तो कर्म गरेर बज्छ कसरी औदार्यको बाँसुरी
तृष्णको भलमा अदम्य बलमा पीडा बलात्कारको
इच्छा फुल्न नपाउँदै रहरको वर्षा भयो नाशको ।
५
आमा
कपिल किशोर घिमिरे
छन्द:मन्दाक्रान्ता
आमा हुन्छिन् सकल मनको भाव बुझ्ने सिपालु
आमा देवी मन वचनले बन्न सक्ने दयालु
त्यागी आफ्ना सुख सब उनी मग्न,सन्तान निम्ति
यस्ती आमा भुवन भरमा नम्य सन्तान निम्ति ।
१
आमा प्यारी हरदम यिनै प्रेमकी हुन् पुजारी
छोराछोरी असल हुनुमा पूज्य माता पियारी
शिक्षा दीक्षा हरदम दिने शिक्षिका हुन् सुमाता
सुम्पी सारा तनमन खुबै योग्य पार्ने सुमाता।
२
सुत्दै आफू अतिशय चिसो भूमिमा, पुत्रलाई
टाँस्छिन् छाती सकभर निकै प्रेमले पुत्रलाई
आमालाई प्रतिदिन झुकी ढोग्नुपर्ने सबैले
हेला गर्ने कपुत जनले भोग्छ पीडा उसैले।
३
आफू भोकै तर पनि सधैँ भोक मेट्छिन् यिनैले
यस्ती आमा किन कपुतले पिर्छ धेरै कुराले
बाबा बन्ने छ जब पछि ऊ भोग्छ पीडा उसैले
चर्खा हो यो सब फनफनी घुम्छ लाग्दैन बेरै।
४
क्रान्ति होम
ज्वाला प्र.भट्टराई
छन्द:शार्दूलविक्रीडित
गौरी शंकर नाथ हे पशुपते लेख्दै गरेँ वन्दना
ॐॐॐ नम मन्त्रमा झुँमिरहे यो भक्तको प्रार्थना
श्रावण्मा शिव नामको छ महिमा यै मासमा दर्शन
होला भक्ति र मुक्ति पुन्य जनमा यो कोटिका होममा।
१
ठूलो क्रान्ति भयो र बढ्छ गरिमा यो कोटि राम्रो गति
सारा मानव उर्लिए पशुपते आराध्यका उत्पति
जातै वर्ण कुनै विभेद रचना त्यो छैन वैकुण्ठमा
त्यस्तै शाश्त्रिय विद्वता विनयता स्वीकार्यता होममा ।
२
पैले होम र जाप यो मुलुकमा गर्दै थिए ता पनि
तेत्रा द्वापर सत्य लोक जसरी ऐले उतार्यौ हरि
संकल्पी मन योग दान विजयी कृष्णात्परम् भक्त छन्
हात्ती लम्किरहन्छ धीर पथमा खिच्चा भुकी थाक्दछन् ।
३
वेदी कुण्ड बनाइए चरु सुरो स्वाहा स्वदा गुञ्जन
वेदी रूप बनाइए दलितका विद्वानका व्यञ्जना
कुण्ठा कल्पित भत्किए भुवनमा स्वधर्मका यी कुरा
देशै शान्त फलाउँदैछ अवनी आनन्दका आँकुरा ।
४
राधाकृष्ण र राम वा शिवजिका दुर्गा सती चण्डिका
व्याख्या भव्य कथा व्यथा श्रवण भो माधूर्यमा चम्किला
श्रीमद्भागवती रसामृत सुधा सोपानका शान्तिका
विद्वान् वा विदुषी सयौं तरहका ठूला भए क्रान्तिका।
५
हाल:अष्ट्रेलिया
कुपथको तक्मा
मणि दाहाल
छन्द: शिखरिणी
उँभौली मार्गीको विगत अब यी कुत्सित भुली
बुझेका भन्ने नै हतपत उतै जान्छ त डुली
झुमेका छन् धेरै दनदन अगेना वरिपरि
सयौ पुष्ते नाता हर तरहले खोजबिन गरि।
१
अधर्मी भै धर्मी असल सब छन् मान पदले
सबै मैलाधैला शुचित सहजै हुन्छ कदले
भए जम्मै स्वाँगी झलझल यहाँ दीप घरघर
उधौलीमा जम्मै क्षणभर हुने छन् परपर ।
२
उनै बाङ्गा टिङ्गा गगनशिरको आँगनभरि
गलाएरै छाड्छन् हरतरहले मोहित गरि
सवारीमा नाच्ने अघिपछि हुँदै साथ जनमा
उनै पुग्छन् चाडै हर जगतकै मान पदमा ।
३
जमाना भो उल्टो प्रतिदिन उभिण्डो पलघडी
बन्यो सारा ढोंगी असल गुणको तर्पण गरि
गर्नै हैनन् कैलै शत असतको ख्याल मनले
हड्डीको फन्दामा फुरुफुरु हुदै स्वार्थ पनले ।
४
दिने दाता राम्रा भनिकन उनैको पछिपछि
सबै राजा रैती भजन तिनकै जप्दछ बसी
सबै ताला चाबी मुलुक भरमै हात्त तिनकै
धुतेका थैलाले कसर तिनको हट्दछ सबै ।
५
संन्यासी घुम्टोले उपर प्रभुको तेज नयनमा
सदा सुत्ने गर्छन् ठसठस मुतैको सयनमा
सबै गौडा गल्ली हरपल मुतैकै चकचकी
सबै निल्छन् पाए मिलजुल गरेरै भकभकी।
६
सधैँ हाँस्दै डुल्छन् शठ मनुज नै लुरुलुरु
डुबुल्की नै मार्छन्अपवित कुवामा खुरुखुरु
कता कैले बड्छ यस तरहले स्वच्छ गरिमा
उधारो निष्टाले अधम धम भो लोक भरिमा ।
७
विराटनगर
राष्ट्रियता जोगाऊँ
सुरेशकुमार पाण्डे
छन्द:झ्याउँरे
नराम्रो बानि छिमेकी हाम्रो सधियौँ सुध्रेन
नेताको पनि दिमाख कत्ति कहिले उघ्रेन
ढुकेर सधैँ मौकाको बाटो कुरेर बसेको
दु:खीमा थोरै भेटायो भने छुरा नै धसेको।
१
दुश्मन लाग्यो हिमाली काख नजिक्कै बनेर
रगत चुस्न पल्केको जुका मुटुमा पसेर
टिस्टा नै लग्यो नेपाली नक्सा टुकार्यो उसैले
बनायो कुण्ठा विकास यहाँ रोकिन कसैले।
२
बगर बिक्यो सहर बिक्यो अश्मिता दाउँमा
रहर छैन जिउँने आज सहर गाउँमा
बुझायो देश दुश्मनलाई बनेर दलाल
ओसार्यो धातु बिगार्यो नक्सा सुन्दर नेपाल।
३
हातमा दही जमाई हामी बसे त मर्नु छ
जनता अब जुरूक्कै उठौँ सङ्घर्ष गर्नु छ
सदियौँ देखि ठगिंदै आयौँ अब त जागौँ न
राष्ट्रिय प्रेम मनमा राखि मिलेर लडौँ न।
४
सङ्घीय राज महङ्गो भयो बेलैमा फालौँ है
सबैको माग एउटै आज सङ्घीय ढालौँ है
नपालौँ अब धेरै यी मन्त्री देशले थेग्दैन
नराम्रो बानी छाडेर हामी नलडी हुँदैन।
५
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।